
पोखरा । होटल संघ पोखरा नेपालले मंगलबार होटलकर्मी तथा उनीहरूका कर्मचारीहरूका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (एआई) र अनलाइन ट्राभल एजेन्सी (ओटीए) मार्फत बुकिङ व्यवस्थापन तथा आम्दानी वृद्धि विषयमा जानकारी दिइएको थियो।
संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार, सन् २०२५ मा एआई र ओटीएको प्रभावकारी प्रयोगबाट होटलहरूले आम्दानी वृद्धि गर्न सक्ने सम्भावनालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा एक सयभन्दा बढी होटलकर्मी तथा कर्मचारीहरूले सहभागिता जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि होटल संघ नेपालका केन्द्रीय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले सहभागीहरूलाई एआईसम्बन्धी ज्ञान लिन पाएको भन्दै खुसी व्यक्त गरे। उनले आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न संघलाई आग्रह गरे। साथै, आगामी आर्थिक वर्षको बजेटमा होटल क्षेत्रलाई उद्योगसरह विद्युत महसुल लागू गर्ने निर्णयप्रति अर्थ मन्त्रालय र सरकारलाई धन्यवाद पनि दिए।
पराजुलीले बैंकको ब्याजदर दुई अंकबाट घटेर एकल अंकमा आएकाले होटल व्यवसायका लागि सहज वातावरण सिर्जना भएको उल्लेख गरे। उनले चीन र बंगलादेशमा संघले सञ्चालन गरेको प्रवर्द्धनात्मक कार्यक्रममा आधारित रहेर पर्यटन प्रवर्द्धनले मात्र क्षेत्रको विकास सम्भव हुने धारणा पनि राखे।
संघका अध्यक्ष सुवेदीले पोखराको पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ र ‘चलिए पोखरा’जस्ता अभियान संघले सञ्चालन गर्दै आएको स्मरण गराए। उनले पोखराका होटलमा करिब पाँच खर्ब रुपैयाँको लगानी सुरक्षित राख्न संघ सचेत रूपमा अघि बढिरहेको बताए।
संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले अभिमुखिकरण कार्यक्रम सहभागीहरूका लागि ब्रेन स्ट्रोमिङको अवसर भएको उल्लेख गरे। कार्यक्रमका श्रोतव्यक्ति सन्तोष बरालले एआईलाई अवसरका रूपमा लिनु पर्नेमा जोड दिँदै ओटीए, अगोडा, बुकिङ डटकमजस्ता प्लेटफर्ममा अकाउन्ट सञ्चालन र व्यवस्थापन सम्बन्धी जानकारी प्रस्तुत गरे।
‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्युर)’ सँगको सहकार्यमा ‘Leveraging AI, Technology and OTAs’ शीर्षकमा आयोजना गरिएको उक्त कार्यक्रममा परियोजना गण्डकीका प्रमुख सुशील लिंखाले परियोजनाबारे जानकारी गराएका थिए। कार्यक्रमको सञ्चालन संघकी सचिव पार्वता पाण्डेले गरेकी थिइन्।
