मुख्यमन्त्री पाण्डेको आरोप : “रिस, डाह र अफवाहमा आधारित पत्रकारिता मौलाउँदै”

Share:

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूप्रति व्यक्तिगत रिस र डाहले प्रभावित भई तथ्यहीन समाचार सम्प्रेषण भइरहेको गम्भीर आरोप लगाएका छन्। प्रदेशसभामा पत्रकारिता, सूचनाको हक र मिडिया नियमनसम्बन्धी विषयमा धारणा राख्दै उनले सामाजिक सञ्जालमा फैलिने अफवाह र व्यक्तिगत आक्रोशले मुख्यधारका मिडिया प्रभावित भइरहेको बताए। उनले प्रेस स्वतन्त्रताको आडमा छाडातन्त्र फैलिएकोप्रति चिन्ता व्यक्त गरे।

“पत्रकारले लेख्ने हक छ, तर त्यो तथ्यमा आधारित हुनुपर्छ। मन लाग्यो भनेर लेखिने समाचारले व्यवस्था नै धरापमा पर्न सक्छ,” मुख्यमन्त्री पाण्डेले चेतावनी दिए।

“रिसले लेखिएको पोस्ट आधार मानेर समाचार लेख्न मिल्दैन”

मुख्यमन्त्री पाण्डेले आलोचना गर्दै भने, “म मुख्यमन्त्री भएकोले मन नपर्नेहरू पनि होलान्। सरकारी गाडी चढेको, क्वार्टर बसेको, सुरक्षा पाइरहेको देखेर मेरो आफ्नै परिवारका सदस्यहरूले पनि सामाजिक सञ्जालमा लेख्न सक्छन्। तर, त्यसलाई आधार मानेर समाचार बनाउनु पत्रकारिता होइन,” उनले दोहो¥याए।

व्यक्तिगत लाभ पूरा नहुँदा खबरको विकृति

पाण्डेले एक पत्रकारले मागेको सडक योजना नपाउँदा बजेट पूरै खारेज भएको झैँ गरी समाचार बनाइएको उदाहरण प्रस्तुत गरे। “एउटा योजना नपाएको निहुँमा समाचार बनाइयो, ‘मुख्यमन्त्रीले सारा बजेट खाए, घर बनाउँदै छन्।’ यस्तो अराजनीतिक र तथ्यविहीन प्रचार हतोत्साहित पार्ने खालको हो,” उनले प्रष्ट पारे।

“सूचनाको हक प्रयोग गरेर प्रमाणसहित लेख्नुहोस्”

मुख्यमन्त्री पाण्डेले पत्रकारहरूलाई तथ्य र प्रमाण खोजेर मात्रै समाचार लेख्न आग्रह गर्दै भने, “कार्यालयमै आउनुहोस्, सूचनाको हक प्रयोग गर्नुहोस्। तथ्य बुझेर लेख्नुस्। अनुमान र आरोपको भरमा लेखिएको समाचार पत्रकारिता होइन,” उनले जोड दिए।

उनले हालै प्रशासनिक खर्च सम्बन्धी सुझाव समितिको खर्चबारे पनि तथ्य विकृत गरिएको आरोप लगाए। “एउटा मिडियाले २० लाख खर्च भयो भनेर लेख्यो, तर त्यसको आधा पनि खर्च भएको छैन,” पाण्डेले दाबी गरे।

“पत्रकारहरूको कलम भाँचिएपछि मात्रै हाम्रो मुख थुनिन्छ”

मुख्यमन्त्री पाण्डेले लोकतन्त्र सजिलै गुम्न सक्ने चेतावनी दिँदै भने, “हामीले ल्याएको यो लोकतन्त्र सजिलोसँग गुम्न सक्छ। पत्रकारहरू पहिलो शिकार हुन सक्नुहुन्छ। तपाईंहरूको कलम भाँचिएपछि मात्रै हाम्रो मुख थुनिन्छ।”

कमेन्ट गर्नुहोस्
Share: