
पोखरा । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता आगामी बिहीबारदेखि पोखरामा सुरु हुने भएको छ। असार १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमीको कोर्टमा हुनेछ।
संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक गिरमान गुरुङका अनुसार प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ। सहभागी टिमहरूमा आयोजक गण्डकी प्रदेशसहित बागमती, मधेश, लुम्बिनी, कर्णाली प्रदेश र विभागीय क्लबहरू एपीएफ तथा नेपाली सेना (आर्मी) छन्।
विजेताका लागि एक लाख रुपैयाँ पुरस्कार
लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद रु १ लाख, उपविजेताले ५० हजार, तेस्रोले ३० हजार र चौथो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गण्डकी ह्याण्डबल संघका कोषाध्यक्ष कृष्ण सिंह बस्नेतले जानकारी दिए।
बुल्समेन क्लबको आर्थिक सहयोग
शारीरिक सुगठन खेलमा सक्रिय पोखराको प्रतिष्ठित क्लब बुल्समेन क्लबले प्रतियोगिताका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। क्लबका संस्थापक एवं समाजसेवी ईश्वर गुरुङले उक्त सहयोग हस्तान्तरण गरेका हुन्। क्लबका अध्यक्ष नुना गुरुङ, सचिव उदिम गुरुङ र वरिष्ठ सल्लाहकार सनप्रसाद गुरुङले गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकलाई रकम हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष पाठकले सहयोगप्रति आभार व्यक्त गर्दै गण्डकी प्रदेशका युवालाई खेलतर्फ आकर्षित गर्न यो सहयोग प्रेरणादायी हुने बताए। सहयोग प्रदानसँगै बुल्समेन क्लब प्रतियोगिताको सह-प्रायोजकको रूपमा रहने संघले जनाएको छ।
रकम हस्तान्तरण कार्यक्रममा संघकी उपाध्यक्ष शान्ति थापा वैद्य, कार्यसमिति सदस्य विष्णुमाया गुरुङ, कास्की ह्याण्डबल संघका अध्यक्ष चित्रबहादुर थापालगायतको उपस्थिति थियो।
चार वर्षपछि राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता
गण्डकी कपमार्फत राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता करिब चार वर्षपछि पुनः सञ्चालनमा आउन लागेको हो। ह्याण्डबल संघले प्रतियोगिता गण्डकी प्रदेश खेलकुद परिषदको प्रवर्द्धनमा र कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा सञ्चालन गर्ने जनाएको छ।
सन् २०१२ ९विक्रम संवत २०६९० मा गठन भएको बुल्समेन क्लबले हरेक दुई वर्षमा शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आएको छ। क्लबले हालसम्म चार संस्करण सम्पन्न गरिसकेको छ भने पाँचौं संस्करणको तयारी अन्तिम चरणमा रहेको जनाएको छ।
