यसरी भयो एसईईको नतिजामा सुधार !

Share:

काठमाडौं । २०८१-२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए, जसअनुसार ५२.१४ प्रतिशत विद्यार्थीको नतिजा असफल (एनजी) आएको थियो। विद्यार्थीको ठूलो संख्यामा फेल भएको देखेर प्रधानमन्त्री केपी शर्मा ओलीले कडा असन्तोष व्यक्त गर्दै २०८१ सालमा ७० प्रतिशत पास दर पुर्‍याउने लक्ष्यसहित सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नतिजा सुधारका लागि एक कार्यदल गठन गर्‍यो। प्रधानमन्त्री ओली शिक्षकहरूको भूमिकाप्रति पनि आक्रोशित देखिए, र ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकहरूको तलब वृद्धिको औचित्यमाथि प्रश्न उठाए।

तर, २०८१ सालको एसईई परीक्षामा उल्लेखनीय सुधार देखिएको छ। यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १३.९५ प्रतिशतले बढी हो।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस सुधारलाई सबै सरोकारवालाको संयुक्त प्रयासको नतिजा बताएका छन्। उनका अनुसार, अघिल्लो वर्षको नतिजाको विश्लेषणका आधारमा प्रत्येक स्थानीय पालिकालाई आफ्नो कमजोर विषय पहिचान गरी त्यसमा विशेष ध्यान दिन निर्देशन दिइएको थियो।

“हामीले पालिकालाई विश्लेषणसहित निर्देशन पठाएका थियौं,  कुन विषयमा कमजोरी छ, त्यसमा शिक्षण सिकाइलाई केन्द्रित गर्नू भनेर,” अध्यक्ष शर्माले बताए। साथै, शिक्षा मन्त्रालयले पनि आवश्यक गृहकार्य गरेर सुधारमा टेवा पुर्‍याएको उनले उल्लेख गरे। शर्माले आगामी दिनमा पनि नतिजा थप सुधार गर्नका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

कमेन्ट गर्नुहोस्
Share: