माछापुच्छ्रेमा खानेपानी टंकीको शिलान्यास

Share:

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. २ स्थित माछापुच्छ्रे मावि नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ। लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन र जर्मनीको स्कुल इन्टरनेशनल स्कुलको सहयोगमा निर्माण हुन लागेको उक्त खानेपानी टंकीको शिलान्यास अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले सोमबार गरेका हुन्।

लियो क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष कमल भण्डारीका अनुसार निर्माण हुन लागेको टंकी १० हजार लिटर क्षमताको हुनेछ। निर्माण लागत रु २ लाख ५० हजारदेखि रु २ लाख ८० हजारसम्म लाग्ने अनुमान गरिएको छ। उक्त लागत मध्ये रु २ लाख लायन्स क्लब अफ पोखरा अन्नपूर्णले व्यहोर्नेछ भने बाँकी रकम माछापुच्छ्रे माविले व्यवस्थापन गर्नेछ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष एवं टंकी निर्माण कार्यक्रमका संयोजक सोनाम साङपोका अनुसार २२ वर्षअघि पोखराका विद्यालयहरूमा गरिएको एक स्वास्थ्य परीक्षणमा ७० प्रतिशत विद्यार्थीहरूमा दूषित पानीका कारण स्वास्थ्यसम्बन्धी समस्या देखिएको थियो। त्यसपछि विभिन्न दाताहरूको सहयोगमा तीन सय थान वाटर गार्ड वितरण गरिएको थियो।

तर ती वाटर गार्डहरू लोडसेडिङ र मर्मतसम्भार अभावका कारण तीन वर्षपछि काम नलाग्ने भएपछि स्थायी समाधानको रूपमा सन् २०१७ देखि खानेपानी टंकी निर्माण कार्यक्रम सुरु गरिएको थियो। हालसम्म ४९ वटा टंकी निर्माण गरेर विद्यालयहरूलाई हस्तान्तरण गरिसकिएको र यो निर्माण हुन लागेको ५०औँ टंकी रहेको उनले जानकारी दिए।

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण लायन वर्ष २०२५/२०२६ का अध्यक्ष कल्याण पराजुलीका अनुसार सो वर्षमा क्लबले पोखराका विभिन्न विद्यालयहरूमा आठ वटा खानेपानी टंकी निर्माण गर्ने लक्ष्य राखेको छ। तीमध्ये यो पहिलो टंकी हो भने बाँकी सात टंकी क्रमशः निर्माण हुँदै जानेछन्।

प्रत्येक टंकीमा क्लबले रु २ लाख सहयोग गर्ने र बाँकी लागत सम्बन्धित विद्यालयले बेहोर्ने पराजुलीले जानकारी दिए। उक्त टंकी निर्माणका लागि जर्मनीको स्कुलबाट एक टिम लिडर, एक शिक्षक र १५ जना विद्यार्थी सहित १७ सदस्यीय टोली पोखरा आएको छ। उनीहरूले माछापुच्छ्रे मावि नाउँडाडामा तीन दिन बसेर निर्माण कार्यमा सहयोग गर्ने कार्यक्रम रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: