पोखरा एक्सप्रेसकी सम्पादक जमुना शर्मा न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा मनोनीत

Share:

पोखरा। पोखरा एक्सप्रेस मिडिया प्रालिद्वारा सञ्चालित पोखरा एक्सप्रेस डटकमकी सम्पादक जमुना वर्षा शर्मा न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा मनोनीत भएकी छिन्। सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई श्रमजीवी पत्रकारको हकहितका लागि गठित सो समितिमा नियुक्त गरिएको हो।

विसं २०५८ सालमा बागलुङबाट साहित्यिक पत्रकारितामार्फत आफ्नो करियर सुरु गरेकी शर्माले दुई दशकभन्दा लामो समय पत्रकारितामा बिताएकी छन्। उनले माछापुच्छ्रे एफएम, पोखरापत्र दैनिक, देशसञ्चार डटकम र महिला खबर डटकम जस्ता प्रतिष्ठित सञ्चारमाध्यममा काम गरिसकेकी छन्।

शर्मा हाल नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिकी महासचिव छिन्। पत्रकारिताको संस्थागत विकासमा सक्रिय उनले यसअघि सञ्चारिका समूह गण्डकीको अध्यक्ष, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख र नेपाल पत्रकार महासंघ, कास्कीको उपाध्यक्ष जस्ता महत्त्वपूर्ण जिम्मेवारी समालेसकेकी छन्।

पत्रकारितामा पुर्‍याएको योगदानको कदरस्वरूप उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ लगायत दर्जनौँ सम्मानबाट सम्मानित भएकी हुन्।

गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख सीता पौडेलको प्रेस संयोजकको भूमिका निर्वाह गरिसकेकी शर्मा पत्रकारिता र नेतृत्व विकाससम्बन्धी तालिममा कुशल प्रशिक्षकका रूपमा समेत चिनिन्छिन्।

कमेन्ट गर्नुहोस्
Share: