
पोखरा । नेपाली समाज र संस्कृतिको गहिरो अध्ययन गरेका बेलायती प्राध्यापक डेविड गेल्नरले बिहीबार पोखरामा दलित समुदायको उन्मुक्तिसँग सम्बन्धित विषयमा चर्चा गरेका छन्। अक्सफोर्ड विश्वविद्यालयका समाजशास्त्री गेल्नरले नेपाली दलित समुदायले आफ्नो सामाजिक उन्मुक्तिका लागि कसरी बौद्ध धर्मलाई अंगिकार गरेको भन्ने विषयमा अनुसन्धान गरेका छन्।
पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले यसै विषयमा “हाइरार्की, बिलङ्गिङ्ग, रेजिस्टेन्सः फ्रम् बौद्धिष्ट रिचुअल्स टु दलित एक्टिभिज्म” शीर्षकमा कचहरी कार्यक्रम आयोजना गरेको थियो।
गेल्नरले भारतीय दलित नेता डा. भीमराव अम्बेडकरले बौद्ध धर्मलाई सामाजिक तथा राजनीतिक स्वतन्त्रताको माध्यमका रूपमा अंगिकार गरेको उल्लेख गरे। सन् १९५६ मा नेपाल आएका अम्बेडकर भारत फर्किएपछि ठूलो संख्यामा दलितहरुले बौद्ध धर्ममा रूपान्तरण गरेका थिए। तर नेपालमा त्यसको खास प्रभाव नदेखिएको उनले बताए।
गेल्नरले सन् १९८२ मा पीएचडी अनुसन्धानका लागि नेपाल आएको सम्झना गर्दै भने, “त्यतिबेला ‘जनजाति’, ‘दलित’ वा ‘खसआर्य’ भन्ने शब्दावली खासै प्रचलनमा थिएन।” पछिल्लो समयमा पहिचानको राजनीति तीव्र भएकाले यी शब्दहरू प्रचलनमा आएको धारणा राखे।
नेपालमा छुवाछुत र जातीय विभेदका सन्दर्भमा ठूलो परिवर्तन आएको भन्दै उनले बताए, “विदेशमा रोजगारीमा गएका नेपाली युवाहरूका लागि जातको विषय गौण देखिए पनि स्वदेशमा भने उनीहरू जातीय व्यवहारबाट मुक्त हुन सकेका छैनन्।”
उनको भनाइमा, नेपालका पछिल्ला १५० वर्षको इतिहासलाई सबैखाले विभेदविरुद्धको प्रतिरोधको रुपमा व्याख्या गर्न सकिन्छ। उनले सन् १९७५ मा पहिलोपटक नेपाल र पोखरा भ्रमण गरेको पनि स्मरण गरे।
कार्यक्रममा बोल्दै लेकसिटी कलेजका अध्यक्ष तथा कचहरीका परिकल्पनाकार प्रा. डा. विश्वकल्याण पराजुलीले “दलित” शब्द भारतका अम्बेडकरले प्रयोगमा ल्याएपछि नेपालमा पनि अनुसरण गरिएको बताए। त्यसअघि नेपाली समाजमा ‘पानी चल्ने’ र ‘नचल्ने’ को आधारमा जातीय विभाजन हुने गरेको स्मरण गराए।
उनको धारणा थियो कि नेपाली दलित आन्दोलनलाई एकपक्षीय रूपमा मात्र होइन, बहुआयामिक दृष्टिकोणबाट हेर्नुपर्छ। विभेद हटेको जस्तो देखिए पनि दलित समुदायले अझै पनि विभिन्न किसिमका सहाराहरू लिनुपर्ने अवस्था कायमै रहेको उदाहरण प्रस्तुत गरे।
कार्यक्रममा डा. कृष्ण अधिकारीले डा. गेल्नरको पहिलो नेपाल भ्रमणदेखि नै यहाँको गहिरो अध्ययन सुरु भएको बताए। दलित अधिकारकर्मी तथा वामपन्थी नेता केशबहादुर परियारले संविधान र कानुनी परिवर्तन आए पनि व्यवहारमा विभेद यथावत् रहेको बताए। उनका अनुसार, “दलितमाथिको विभेद केवल सामाजिक नभई संख्या, शक्ति र संरचनाको सवाल पनि हो।”
कचहरीमा डा. अञ्चला चौधरी, सन्तोष सुनार, मनोज वेदी, मेघा पन्थ, अर्जुन पोखरेल, गिरिधारी दाहाललगायत सहभागीहरूले विचार र जिज्ञासा व्यक्त गरेका थिए।
लेकसिटी कलेजले प्रत्येक महिना समसामयिक विषयमा यस्ता कचहरी कार्यक्रम गर्दै आएको छ। कलेजमा पत्रकारिता तथा आमसञ्चार, समाज कार्य र व्यवस्थापन विषयमा स्नातक तहको अध्ययन गराइन्छ।
