प्रथम प्रगति एसईइ कप सम्पन्न

Share:

पोखरा । प्रथम प्रगति एसईइ कपको छात्र फुटबलको उपाधि मुखिया समुहले उचालेको छ। एस ईइ परीक्षा दिएर बसेका विद्यार्थीलाई केन्द्रित गरी पोखराको बाटुलेचौरमा रहेको प्रगति सेकेण्डरी स्कुलले पहिलो पटक आयोजना गरेको खेल कार्यक्रममा १६ टिमले सहभागिता जनाएको छात्र फुटबलको उपाधि मुखिया समुहले उचालेको हो।

प्रतियोगितामा भलाम बी दोस्रो भएको छ । ८ टिमले सहभागिता जनाएको छात्र बास्केटबलमा मर्दीखोला समुह प्रथम र अन्नपूर्ण कास्की समुह दोस्रो भयो । छात्रा बास्केटबलमा अमिची समुह प्रथम र मर्दीखोला समुह दोस्रो भएको संयोजक दिवस अधिकारीले जानकारी दिए।

विजयी टिमलाई कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्रबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य यम कार्कीले नगदसहित मेडल र ट्रफी प्रदान गरे।

विभिन्न चरणमा भएको खेलको सञ्चालन अफिसियल सुवास गुरूङ,  ज्ञान पुन, दिपेन्द्र घर्ती, ईशान गुरुङ, निकेश गुरुङ, प्रलेक्स गुरूङ विद्यालयका खेल प्रशिक्षक दिनेश श्रेष्ठ , पुर्णमान गुरुङ,दिवस अधिकारी र सुरज देवकोटाले गरेका थिए।

पुरस्कार वितरणको औपचारिक कार्यक्रममा बोल्दै संघका अध्यक्ष चित्रबहादुर थापाले विद्यालय तहबाटै विद्यार्थीलाई खेलकुदका क्षेत्रमा लगाउन सके मात्र देशले योग्य खेलाडी पाउने बताए।

विद्यालय व्यवस्थापन समितिका सदस्य यम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दिवस अधिकारी र सञ्चालन सहायक कार्यालय प्रशासक विनोद भुजेलले गरेका थिए। विद्यालयले एसईइ कपलाई प्रत्येक वर्ष निरन्तरता दिने जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: