पोखरामा रेस्टुरेन्ट तथा होटलमा सुरक्षित र स्वच्छ खाद्य सेवा तालिम

Share:

पोखरा। रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजना, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्य र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा एकदिने “रेस्टुरेन्ट तथा होटलमा सुरक्षित र स्वच्छ खाद्य सेवा” तालिम कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यालय प्रमुख मणी राज लामिछानेले पोखरा एक प्रमुख पर्यटकीय गन्तव्य भएकाले यहाँ आगन्तुक पर्यटकलाई स्वस्थ, स्वच्छ र सुरक्षित भोजन उपलब्ध गराउनु अत्यन्त जरुरी रहेको धारणा व्यक्त गरे। उनले तालिमपछि पोखराको खाद्य गुणस्तरमा थप सुधार आउने अपेक्षा व्यक्त गरे।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पछिल्लो समय पोखराका होटल तथा रेस्टुरेन्टका भान्सा व्यवस्थापनमा उल्लेखनीय सुधार आएको जानकारी दिए। उनले रेवानले बेलाबखत आफ्ना सदस्य प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूलाई खाद्य सुरक्षासम्बन्धी तालिम प्रदान गर्दै आएको उल्लेख गरे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले तालिम खानामा प्रयोग हुने खाद्यवस्तुहरूको सुरक्षामापदण्ड तथा खानालाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा केन्द्रित रहेको जानकारी दिए। तालिममा खाद्य अनुसन्धान अधिकृत दीपक कुँवर र प्रदीप काफ्लेले सहजीकरण गरेका थिए ।

तालिममा पोखराका विभिन्न होटल तथा रेस्टुरेन्टमा कार्यरत ८० जना म्यानेजर तथा सेफहरूले सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रमको समापनमा रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले तालिममा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै यस्तो तालिमले सम्पूर्ण पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: