पोखरा–२५ हेमजामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वडामा हालसम्म सम्पन्न विकास निर्माण तथा सेवा प्रवाहका विषयमा जनतासँग प्रत्यक्ष संवाद गर्न पोखरा-२५ वडा कार्यालय र माछापुच्छ्रे मिडिया एण्ड मल्टीपर्पोज प्रालिको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागी स्थानीयवासीले आफ्ना गुनासा, सुझाव तथा जिज्ञासाहरू राखेका थिए। ती जिज्ञासाहरूलाई वडा अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, वडाका जनप्रतिनिधि तथा विषयगत शाखाका कर्मचारीहरूले प्रत्यक्ष रूपमा सम्बोधन गरे।

कार्यक्रममा पछिल्लो समय वडामा भएका विकास निर्माण कार्यप्रति सर्वसाधारणले सकारात्मक प्रतिक्रिया जनाउँदै प्रशंसा व्यक्त गरेका थिए। साथै, आगामी दिनमा विकास निर्माण कार्यलाई असार मसान्तसम्म होइन, चैत मसान्तमै सम्पन्न गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरियो।

प्रमुख विषयहरूमा छलफल

सार्वजनिक सुनुवाइमा जग्गा हालसाबिक प्रक्रिया, पुराना घर अभिलेखीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, सिसिटिभी जडान, शिक्षाको गुणस्तर, सिधा यातायात सेवा विस्तार, बर्खे योजना र तालिम कार्यक्रम लगायतका विषयमा प्रश्नहरू उठाइएको थियो। विकास निर्माणसँगै सेवा प्रवाहलाई अझ व्यवस्थित बनाउनेतर्फ विशेष ध्यान दिन सुझाव दिइएको थियो।

अध्यक्ष तिम्सिनाको प्रतिबद्धता

वडा अध्यक्ष मोतीलाल तिम्सिनाले नागरिकका सुझाव र गुनासालाई वडाको तर्फबाट सम्बोधन गर्दै जान प्रतिवद्धता व्यक्त गरे। उनले भने, “हामीसँग योजना र बजेट दुवै हुन्छ तर उपभोक्ता समिति सम्झौता गर्न ढिला गर्छ, अन्तिम समयमा सम्झौतामा आउँदा काम असार मसान्तमै सक्नुपर्ने बाध्यता आउँछ। अब यस्तो परिपाटी अन्त्य गर्नुपर्छ।”

सडक बत्ती र सिसिटिभी विस्तार

वडामा यस वर्षदेखि ‘जिरो डार्क एरिया’ बनाउने उद्देश्यले सडक बत्ती जडान सुरु गरिएको जानकारी दिँदै अध्यक्ष तिम्सिनाले याम्दीदेखि चाक्लेपाटनसम्म सडक बत्ती जडानको काम यस वर्ष हुने बताए। आगामी वर्ष चाक्लेपाटनदेखि फेदीसम्म बत्ती जडान गरिने योजना रहेको पनि उनले जानकारी दिए।

त्यस्तै, हेमजाका मुख्य चोकहरूमा सिसिटिभी क्यामरा जडान गर्न वडामा रहेका बैंक, वित्तीय संस्था र सहकारीहरूसँग सहकार्य गरिने बताइएको छ।

हालसाबिक प्रक्रिया सहज बनाउन पहल

वडावासीबाट जग्गा हालसाबिक प्रक्रिया झन्झटिलो भएको गुनासो आएपछि वडा कार्यालयले नापी कार्यालयका प्रतिनिधि टोलीलाई वडामै बोलाएर छलफल गरेको जानकारी अध्यक्ष तिम्सिनाले दिए।

“हामीले नापी कार्यालयलाई अस्थायी शाखा हेमजामै खोल्न आग्रह गरेका छौं। उहाँहरूले दुई महिनाको समय दिएका छन्। यदि सो समयमा नापी कार्यालयमा प्रक्रिया गर्न समस्या भए, यहीँ आएर काम गर्ने सहमति भएको छ,” उनले भने।

कमेन्ट गर्नुहोस्
Share: