विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना भविष्य निर्माणतर्फको ठूलो कदम हो : मन्त्री थापा

Share:

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखरा-९ स्थित श्री सहारा बाल आधारभूत विद्यालयमा नवस्थापित विज्ञान प्रयोगशालाको उद्घाटन गर्दै यसलाई बालबालिकाको उज्यालो भविष्य निर्माणतर्फको महत्वपूर्ण कदमको रूपमा टिप्पणी गरेका छन् ।

प्रयोगशाला शुभारम्भका साथै विद्यालयलाई विभिन्न दाताहरूको सहयोगमा प्राप्त प्रोजेक्टर, साउन्ड सिस्टम र फर्निचर सामग्रीको पनि औपचारिक हस्तान्तरण गरिएको उक्त कार्यक्रममा मन्त्री थापाले भने, “हामीले चाहेको परिवर्तन यस्ता विद्यालयमै हुन्छ, जहाँ विज्ञान पढिन्छ, प्रयोग गरिन्छ र बालबालिकाले भविष्य कोर्छन्।”

उनले शिक्षा क्षेत्रमा प्रदेश सरकारको प्राथमिकता अनुसार सार्वजनिक–निजी साझेदारीमार्फत आवश्यक प्रविधि, पूर्वाधार र अवसरहरूलाई अगाडि बढाइने बताए ।

“एक पुस्ताको शिक्षा सुधार्न सके अर्को पुस्ताको भविष्य स्वतः उज्यालो हुन्छ”, मन्त्री थापाले थपे, “विद्यालयमा प्रयोगशाला, प्रविधि र सशक्त शिक्षक हुनु नै समावेशी र गुणस्तरीय शिक्षाको आधार हो।”

प्रदेश सरकारले २०८२/०८३ को बजेटमा समेत उक्त विद्यालयका लागि बजेट विनियोजन गरेको जानकारी उनले गराएका छन् । पहिले भन्दा अहिले विद्यालयमा आएको सुधार देखेर मन्त्री थापा खुशी छन् ।

पोखरा महानगरपालिका वडा नं। ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयको स्तरोन्नतिका लागि प्रदेश सरकारसँग स्थानीय तह मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सहारा बाल आधारभूत विद्यालयको भौतिक देखि शैक्षिक सुधारमा आफु सँधै साथमा रहेको अभिव्यक्ति उनको छ ।

पोखरा महानगरपालिकाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मीले महानगरपालिकाले शिक्षा क्षेत्रमा लगानी गरि यसको गुणस्तरियतामा ध्यान दिएको जनाए । पोखरा महानगरपालिका भित्र रहेका विद्यालयहरुको अनुगमन गरि आवश्यकता अनुसार सुधार गर्दै जाने भनाई उनको छ ।

विद्यालय संचालक समितिका अध्यक्ष विक्रम थकालीले विद्यालयका लागि सौजन्य गरेका दाताहरुलाई धन्यवाद दिँदै विद्यालयलाई प्रविधिमैत्री वातावरणमा शिक्षणविधि अप्नाउन सहयोग सामाग्रीले सहायता मिल्ने विश्वास व्यक्त गरे । प्रदेश सरकार आएको ८ वर्षमा पहिलो पटक विद्यालयका लागि रातो किताबमा नै बजेट विनियोजन हुनुु सकरात्मक पक्ष रहेको उल्लेख गर्दै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय सँगै मन्त्रीलाई उनले धन्यवाद दिए ।

विद्यालयका विषयमा जानकारी गराउँदै प्रधानाध्यापक लोचना अधिकारीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको शैक्षिक स्तरमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । विद्यालयको स्तरोन्नतिका लागि शैक्षिक क्षेत्रको सुधारमा ध्यान पुर्याइएको अभिव्यक्ति उनको छ ।

कार्यक्रममा स्थानीय अभिभावक, विद्यालयका शिक्षक, विद्यार्थी र सहयोगी संस्थाहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: