नेपाली कांग्रेसद्वारा कास्कीका तीन नेतामाथि अनुशासनको कारवाही, पार्टी सदस्यता निलम्बन

Share:

पोखरा। नेपाली कांग्रेसले २०७९ सालमा सम्पन्न स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको अभियोगमा कास्की जिल्लाका तीन नेतामाथि कारवाही गरेको छ।

पार्टीको केन्द्रीय अनुशासन समितिले कास्कीका निवर्तमान सभापति कृष्ण केसी, महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का र क्षेत्र नम्बर २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठलाई पार्टीको साधारण सदस्यताबाट निलम्बन गर्ने निर्णय गरेको हो।

समितिको निर्णयअनुसार कृष्ण केसीलाई ३ महिनाका लागि, कुमार खड्कालाई १ वर्षका लागि तथा भावना श्रेष्ठलाई ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन गरिएको छ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले बुधबार एक विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्। समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकमा संलग्न व्यक्तिहरूले पार्टी उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध सामाजिक सञ्जाल, अडियोरभिडियो लगायतका माध्यम प्रयोग गरी असहयोग पुर्‍याएको ठहर गर्दै कारवाही गरिएको जनाइएको छ।

ढुंगानाका अनुसार, उजुरीका आधारमा उनीहरूबाट स्पष्टीकरण मागिएको थियो, तर प्राप्त स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख) र (घ) बमोजिम कारवाही गरिएको हो। यससँगै, अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालसहित २३ जना अन्य नेतारकार्यकर्तामाथि पनि अनुशासनात्मक कारवाही गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: