पोखरामा क्लबस्तरीय भलिबलः घान्द्रुक क्रोम्छे शीर्ष स्थानमा

Share:

पोखरा । पोखराको नदिपुरमा जारी तेस्रो क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे शीर्ष स्थानमा उक्लिएको छ। पोखरा-३ स्थित नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा लिग चरणअन्तर्गत सातौं खेलमा घान्द्रुक क्रोम्छेले आधिखोला न्यु दिल्लीलाई ३–१ को सेटमा पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो। घान्द्रुकले आधिखोलालाई २६–२४, १२–२५, २५–२३ र २५–२३ को सेटमा हराएको थियो। ४ खेलबाट ९ अंक हासिल गर्दै घान्द्रुक शीर्ष स्थानमा पुगेको हो।

यस्तै, आठौं लिग खेलमा एपिएफले ठकुरी समाजलाई ३–१ को सेटमा पराजित गरेको छ। एपिएफले ठकुरी समाजलाई २५–२०, २०–२५, २५–२० र २८–२६ को सेटमा पराजित गर्दै ६ अंक जोडेको छ। यद्यपि, समान ६ अंक भए पनि सेटका आधारमा आधिखोला दोस्रो र एपिएफ तेस्रो स्थानमा छन्।

त्यस्तै, ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जा चौथो र ठकुरी समाज पाँचौं स्थानमा रहेका छन्। लिग चरण सकिएपछि शीर्ष चार टोलीबीच सेमिफाइनल खेल हुनेछ। लिगको पहिलो र चौथो स्थानमा रहेका टोलीबीच पहिलो सेमिफाइनल तथा दोस्रो र तेस्रो स्थानमा रहेका टोलीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। दुबै सेमिफाइनल विजेता टोली फाइनलमा प्रवेश गर्नेछन्।

भेट्रान्सतर्फ एक क्वाटरफाइनल खेल बाँकी

लामा अमृत फाउण्डेशन घान्द्रुकद्वारा आयोजित प्रतियोगिताको भेट्रान्सतर्फ शुक्लागण्डकी, पोखरा भेट्रान्स र अर्चलबोट भेट्रान्सले सेमिफाइनलमा स्थान पक्का गरेका छन्। अन्तिम क्वाटरफाइनल खेल होटल ल्याण्ड सिक्लेस भेट्रान्स र किङ्स युनाइटेडबीच शुक्रबार हुनेछ।

फाउण्डेशनका संस्थापक अमृत गुरुङका अनुसार लिग चरणका अन्तिम खेलहरू र भेट्रान्सतर्फका सेमिफाइनल खेलहरू शुक्रवार सम्पन्न हुनेछन्। प्रतियोगिता असार २८ गतेसम्म सञ्चालन हुनेछ।

पुरस्कार तथा सम्मान

प्रतियोगिताको पुरुष क्लबस्तरीय विजेता टोलीले १ लाख २५ हजार रुपैयाँ, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्। भेट्रान्सतर्फको विजेता टोलीले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर, उदियमान खेलाडी र प्रशिक्षकलाई विशेष पुरस्कार प्रदान गरिनेछ।

पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता राउण्ड रोबिन प्रणालीमा सञ्चालित छ भने भेट्रान्सतर्फको खेल नकआउट प्रणालीमा सञ्चालन गरिएको छ। लामा अमृत फाउण्डेशनले यसअघि सन् २०७५ र २०७६ मा प्रतियोगिताको पहिलो र दोस्रो संस्करण आयोजना गरिसकेको थियो।

कमेन्ट गर्नुहोस्
Share: