पोखरामा महिलाको सिक्री लुटपाटमा संलग्न २ जना काठमाडौंबाट पक्राउ

Share:

पोखरा । पोखरामा बसमा यात्रा गरिरहेकी एक महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गर्ने घटनामा संलग्न २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार मिति २०८१ साल चैत २९ गते साँझ ५:१५ बजे अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक महिलाको घाँटीमा लगाइएको करिब २ तोलाको सुनको सिक्री पोखरा महानगरपालिका-१० शिवचोकमा सोही बसमा सवार दुई व्यक्तिले लुटी फरार भएका थिए।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट संयुक्त टोली परिचालन गरी अनुसन्धान अगाडि बढाइएको थियो। अनुसन्धानको क्रममा घटनामा संलग्न रहेका दुईजनालाई मिति २०८२ असार २५ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ स्थितबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-६ घर भई हाल गोकर्णेश्वर नगरपालिका–४ बसोबास गर्ने २८ वर्षीय अन्जन तामाङ र सोही ठाउँका ३२ वर्षीय सुरेश तामाङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रहरीले पक्राउ परेकाहरूको फोटोसहित विवरणसमेत सार्वजनिक गरेको छ। कास्की प्रहरीले चोरी तथा डाँका जस्ता आपराधिक गतिविधिमा संलग्नलाई कडाइका साथ नियन्त्रणमा लिने प्रतिबद्धता जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: