त्रिवेणी इन्टरनेशनल कलेजका विद्यार्थीको विदाई कार्यक्रम सम्पन्न

Share:

पोखरा । त्रिवेणी इन्टरनेशनल कलेजको विद्यार्थी कल्याणकारी समितिद्वारा विविएस चौथो वर्षका विद्यार्थीलाई एक विशेष कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ।

कार्यक्रममा पोखरा महानगरपालिका-२६ का वडा अध्यक्ष नरेन्द्र थापाले विद्यार्थीलाई शुभकामना दिंदै अध्ययन केवल प्रमाणपत्र प्राप्तिका लागि मात्र नभई जीवन उपयोगी ज्ञान आर्जनका लागि हुनुपर्नेमा जोड दिए।

अध्यक्ष थापाले १२ कक्षा सकिएपछि अधिकांश विद्यार्थीको पहिलो प्राथमिकता विदेश जाने भएकाले देशका विश्वविद्यालयहरू प्रायः रित्तिँदै गएको अवस्था आएको बताए।

उनले वडामा दैनिक ४–५ जना विद्यार्थी विदेश अध्ययनका लागि कागजात बनाउन आउने गरेको उल्लेख गर्दै,”शिक्षा नीतिमा कमजोरी हो कि नेपालमा सम्भावना छैन भन्ने प्रश्न विद्यार्थीहरूमा उठिरहेको छ,” भने।

स्थानियस्तरमै निजी क्षेत्रबाट सञ्चालित कलेजले सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा दिएको उल्लेख गर्दै अध्यक्ष थापाले शिक्षाको गुणस्तरमा ध्यान दिन आग्रह गरे। साथै, स्थानीय सरकारका रूपमा वडा कार्यालयले आगामी आर्थिक वर्षमा शिक्षा र सीपको समन्वय गर्दै कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी पनि दिए।

कार्यक्रम विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सन्दिप भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका अध्यक्ष सुमन भट्टराई, क्याम्पस प्रमुख यदुनाथ आचार्य, सहायक क्याम्पस प्रमुख डिल्लीराज पौडेल, प्राध्यापक जीवन भण्डारी र विद्यार्थी प्रतिनिधि सर्वेन्द्र न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए।

सो अवसरमा कलेजले विभिन्न वर्षमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू तथा स्पोर्ट मिटमा विभिन्न विधामा विजयी हुने विद्यार्थीहरूलाई सम्मान गरेको थियो। कार्यक्रममा सांगीतिक प्रस्तुति तथा विद्यार्थीहरूको नृत्य समेत समावेश गरिएको थियो।

त्रिवेणी इन्टरनेशनल कलेजमा व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर तहमा गरी करिब ६ सय विद्यार्थी अध्ययनरत छन्। चौथो वर्षको अध्ययन पूरा गरेका विद्यार्थीलाई सो अवसरमा बिदाइ गरिएको हो।

कमेन्ट गर्नुहोस्
Share: