
पोखरा। पोखराको नदिपुरमा सम्पन्न तेस्रो संस्करणको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फ पोखरा भेट्रान्सले उपाधि हात पारेका छन्।
क्लबस्तरीय फाइनलमा आधिखोला न्यु दिल्लीले घान्द्रुक क्रोम्छे युवा समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो। पहिलो सेट २५–१७ ले सहजै जितेको आधिखोलाले दोस्रो सेटमा कडा प्रतिस्पर्धा बीच २७–२५ ले बाजी मार्यो। तेस्रो सेट पनि २५–२२ ले आफ्नो पक्षमा पार्दै उपाधि पक्का गर्यो।
विजेता टिम आधिखोलाले १ लाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता घान्द्रुकले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
भेट्रान्सतर्फ पोखरा भेट्रान्स विजयी
भेट्रान्सतर्फ पोखरा भेट्रान्सले युनाइटेड किङ्स पोखरा भेट्रान्सलाई २५–१६, २५–१४ र २५–१६ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो। विजेता पोखराले ५० हजार रुपैयाँ र उपविजेता युनाइटेड किङ्सले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
तेस्रो स्थान एपिएफ पोखरालाई
तेस्रो स्थानका लागि भएको खेलमा एपिएफ पोखराले ढुङ्गेदेउराली स्याङ्जालाई २५–१२, २५–१८ र २५–१९ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्यो। एपिएफले ३० हजार रुपैयाँ पायो भने चौथो स्थानमा रहेको ढुङ्गेदेउरालीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
व्यक्तिगत विधामा उत्कृष्टता
प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीमा सञ्जु विक्रम शाहलाई सर्वोत्कृष्ट खेलाडी घोषित गरियो। अन्य विधामा उत्कृष्ट खेलाडीहरू उत्कृष्ट स्पाइकर: उमेश सेञ्चुरी, मिडल ब्लकर: सुगम सुनार, डिफेन्डर: राजन दलार्मी, सेटर: विवश आले, सर्भर: मिलन राना, उदियमान खेलाडी: सुप्रिम भुजेल (ढुङ्गेदेउराली), उत्कृष्ट प्रशिक्षक: विक्रम कार्की, भेट्रान्सतर्फ उत्कृष्ट खेलाडी: समेश केसी रहेका छन्।
फाउण्डेशनको आयोजनामा तेस्रो संस्करण सम्पन्न
लामा अमृत फाउण्डेशन, घान्द्रुकको आयोजनामा सम्पन्न प्रतियोगिता असार २४ गतेदेखि सुरु भई असार २८ गते सम्पन्न भएको हो। प्रतियोगितामा क्लबस्तरीयतर्फ ५ टिम र भेट्रान्सतर्फ १० टिमको सहभागिता रहेको थियो। यसअघि फाउण्डेशनले २०७५ र २०७६ सालमा पहिलो र दोस्रो संस्करणको सफल आयोजना गरिसकेको थियो।
