
पोखरा। र्यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा साहित्यकार तीर्थ गुरुङद्वारा लिखित उपन्यास ‘हिउँको गीत’ माथि समालोचनात्मक छलफल सम्पन्न भएको छ। हरेक महिनाको अन्तिम शनिवार विविध कृति तथा विषयमा परिचर्चा गर्दै आएको सोसाइटीले यसपटक उक्त उपन्यासलाई समीक्षा केन्द्र बनाएको हो।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले उपन्यासमा रैथाने ज्ञान पद्धतिको प्रभावशाली समावेश रहेको धारणा राखे। उनले भने, “रैथाने ज्ञान प्रणाली सामूहिक हुन्छ। हिउँको गीत मा पात्रहरूका माध्यमबाट पारिवारिक सम्बन्धसँगै स्थान, वातावरण, परम्परा र जमिनप्रतिको समझदारीलाई सूक्ष्म रूपमा उतारिएको छ।”
उनले उपन्यासमा प्राचीन समाजमा विद्यमान सामाजिक द्वन्द्वलाई प्रभावशाली रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै एक बस्तीको विघटन र त्यसमा बाह्य (औपनिवेशिक) शक्तिको भूमिकालाई कथानकको मूल सन्देशको रूपमा व्याख्या गरे।
“संसारभरि रैथाने परम्परा र पद्धतिहरूको अवसान औपनिवेशिक शक्तिको प्रवेशसँगै भएको इतिहास छ,” त्रिवेणीले भने, “हिउँको गीत मा पनि त्यही प्रक्रिया चित्रित गरिएको छ, जसले समाजको विखण्डन र विनाश निम्त्याएको देखाइन्छ।”
उनका अनुसार उपन्यासले रैथाने ज्ञान प्रणालीको सौन्दर्य र त्यसको अन्त्यमा विदेशी प्रभावको गहिरो चित्र प्रस्तुत गरेकाले यो कृति विशेष रूपमा उत्कृष्ट बनाएको हो।
कार्यक्रममा उपन्यासकार तीर्थ गुरुङले कृति लेखनको पछाडिको प्रेरणा आफ्नै व्यक्तिगत जीवनबाट आएको अनुभव सुनाए। मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित गुरुङले आफ्नै पिताबाट मिर्गौला प्रत्यारोपण गरी पुनर्जीवन प्राप्त गरेको घटनालाई लेखनको माध्यमबाट अभिव्यक्त गर्न खोजेको उल्लेख गरे।
“म लेखनलाई मेरो पुनर्जीवनको माध्यम बनाएको छु,” भावुक हुँदै उनले भने, “यो उपन्यास मैले आफ्नै मातृभूमि, मातृभाषा र मातृसंस्कृतिको ‘पेब्याक’ को रूपमा लेखेको हुँ।”
यसअघि पाठशाला (उपन्यास) र आपा क्हार्प (कथा संग्रह) प्रकाशित गरिसकेका गुरुङले हिउँको गीत मा गुरुङ जातिको उद्गमस्थल ‘क्होला राज्य’ को विकासदेखि विघटनसम्मको कथा समेटिएको जानकारी गराए। उनले पाठकको प्रतिक्रिया अनुसार आगामी संस्करणमा आवश्यक परिमार्जन गर्ने प्रतिबद्धता पनि जनाए।
कार्यक्रम सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा कौशलचन्द्र जिसी, कुमार तामाङ, डा. लक्ष्मीशरण अधिकारी, मेघराज ढकाल, डा. हुमबहादुर गुरुङलगायत सहभागीले उपन्यासको विभिन्न पक्षमाथि टिप्पणी गरेका थिए।
