
पोखरा । सरकारले पोखरास्थित गण्डकी मेडिकल कलेज (जीएमसी) लाई पुनः स्वास्थ्य बीमा कार्यक्रमको ‘प्रथम सेवा विन्दु’ का रूपमा तोकेको छ । स्वास्थ्य बीमा बोर्डको यो निर्णयसँगै अब बीमितहरूले प्रारम्भिक उपचारका लागि गण्डकी प्रदेशको एकमात्र निजी अस्पताल जीएमसीबाट सिधै सेवा लिन पाउनेछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि बोर्डले जीएमसीसहित देशभरका १३ वटा ठूला रेफरल अस्पताललाई आगामी असोज मसान्तसम्मका लागि ‘प्रथम सेवा विन्दु’ को सुविधा पुनः बहाल गर्ने निर्णय गरेको हो।
यसअघि बोर्डले २०८१ साउन १ गतेदेखि लागू हुने गरी रेफरल अस्पतालहरूलाई प्रथम सेवा विन्दुको सूचीबाट हटाउने निर्णय गरेको थियो। उक्त निर्णयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), धुलिखेल अस्पताल, गण्डकी मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता प्रमुख अस्पतालहरू अन्योलमा परेका थिए। सेवाग्राही र स्थानीय तहबाट चर्को विरोध भएपछि मन्त्रालयले हस्तक्षेप गरी बोर्डलाई आफ्नो निर्णय फिर्ता लिन निर्देशन दिएको थियो।
स्वास्थ्य बीमाअन्तर्गत उपचार पाउनका लागि बीमितले सुरुमा आफूले दर्ता गराएको ‘प्रथम सेवा विन्दु’ मा जानुपर्ने प्रावधान छ। सामान्यतयाः स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र वा तोकिएका सरकारी अस्पताललाई प्रथम सेवा विन्दु बनाइएको हुन्छ। त्यहाँ उपचार सम्भव नभएमा मात्र बिरामीलाई आवश्यक प्रक्रिया पूरा गरी विशेषज्ञ उपचारका लागि अन्य अस्पतालमा रेफर गरिन्छ। रेफरल बिना सिधै ठूला अस्पतालमा जाँदा बीमा सुविधा पाइँदैन।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, काठमाडौं उपत्यका बाहिरका १३ वटा रेफरल अस्पताललाई असोज मसान्तसम्मका लागि अस्थायी रूपमा प्रथम सेवा विन्दुको अनुमति दिइएको हो। साथै, बोर्डले स्थानीय तहहरूलाई यथाशीघ्र आफ्नै स्थायी प्रथम सेवा विन्दु तोक्न पनि आग्रह गरेको छ। यो निर्णयले बीमितहरूलाई उपचार, परीक्षण र औषधिजस्ता सेवा सहज रूपमा पाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
