
पोखरा । गण्डकी प्रदेशमा हरेक वर्ष धान खेतीको क्षेत्रफल घट्दै गएको छ। बढ्दो सहरीकरण, प्लटिङ, तथा ठूला भौतिक संरचनाको विस्तारले खेतीयोग्य जमिन मासिँदै गएको हो।
गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा ९७ हजार ६७९ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो। २०८०/८१ मा यो घटेर ९६ हजार ५३ हेक्टरमा झर्यो भने चालु वर्ष २०८१/८२ मा केवल ९४ हजार १८२ हेक्टरमा मात्र रोपाइँ हुने अनुमान छ।
हालसम्म प्रदेशभर ६६ हजार ९०० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयकी सूचना अधिकारी ज्योति क्षेत्रीले जानकारी दिइन् । उनका अनुसार असारको अन्तिम सातासम्म कुल ७१.०३ प्रतिशत रोपाइँ भइसकेको छ।
प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङमा धान खेती हुँदैन। बाँकी जिल्लाहरूमा रोपाइँको अवस्था फरक-फरक छ। लमजुङमा ८६.२२ प्रतिशत रोपाइँ सकिएको छ, जहाँ आठ हजार १८ हेक्टरमा धान खेती भइरहेको छ। क्षेत्रफलका हिसाबले सबैभन्दा बढी खेती नवलपुरमा भइरहेको छ- १४ हजार १११ हेक्टर- तर हालसम्म केवल ७५.३९ प्रतिशत रोपाइँ सकिएको छ।
अन्य जिल्लाको रोपाइँ स्थिति यस्तो छ:
कास्की: ७७.०७%
तनहुँ: ७४.५९%
बागलुङ: ६७.०२%
म्याग्दी: ६५.६९% (२,५०० हेक्टर)
स्याङ्जा: ६२%
गोरखा: ६१.२४%
पर्वत: ६०%
मन्त्रालयका अनुसार सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ, भने बाँकी ठाउँमा आकाशे पानीको भरमा रोपाइँ भइरहेको छ।
यस वर्ष गण्डकी प्रदेशमा करिब साढे दुई लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ। यद्यपि, खेती योग्य जमिन भएर पनि बाँझो रहन थालेको मन्त्रालयको चिन्ता छ।
धानको उत्पादनमा सावित्री, रामधान, हाइब्रिड, जेठोबुढो, झिनुवा, एक्ले, गुर्जा, पहेँले, च्याम्पियन, मकवानपुर, गुर्दी, खुमल, बिरमफूल, पोखरेली जेठोबुढो, लुम्ले, माछापुच्छ्रे, र जर्नेली लगायतका जात प्रयोग गरिएका छन्।
