
पोखरा । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सालिको) ले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा पोखराको छोरेपाटन र हेम्जास्थित मानव सेवा आश्रममा आश्रय लिएका वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरूलाई भोजन गराएर मनाएको छ।
वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित विशेष कार्यक्रममार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग कार्यक्रम सञ्चालन गरिएको हो। सालिको पोखरा न्युरोड शाखाका प्रमुख राजेश बाबु खत्रीका अनुसार कार्यक्रमले आश्रममा बसोबास गरिरहेका जेष्ठ नागरिकहरूमा आत्मबल, आत्मसम्मान र सकारात्मक ऊर्जा बढाउने विश्वास गरिएको छ।
सालिको इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रूपमा रक्तदान, सरसफाइ, तथा विभिन्न सामुदायिक सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जानकारी पनि खत्रीले दिए।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शाखा प्रमुख खत्रीले सामाजिक सेवालाई कम्पनीको पहिलो प्राथमिकता बनाउँदै भविष्यमा यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे। “वार्षिकोत्सवलाई केवल उत्सवको रूपमा मात्र नभई सामाजिक योगदान दिने अवसरको रूपमा लिएको छौं,” उनले भने।
आश्रमका सञ्चालक तथा कर्मचारीहरूले सालिको इन्स्योरेन्सप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगी हातहरूले वृद्धवृद्धाहरूमा आत्मबल र सम्मानको भावना जगाउने उल्लेख गरे। साथै, आगामी दिनहरूमा पनि यस्तै सहयोग प्राप्त हुने आशा व्यक्त गर्दै निरन्तर सहकार्यको आग्रह गरेका थिए।
सगरमाथा र लुम्बिनी इन्स्योरेन्स गाभिएर तीन वर्षअघि सालिको इन्स्योरेन्स कम्पनीको रूपमा एकीकृत कारोबार सुरु गरिएको हो।
