अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाइमा स्थानीयको सशक्त आवाज : पारदर्शिता, पूर्वाधार र सेवा सुधारमा जोड

Share:

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक अवधिमा सम्पन्न योजना, सेवा प्रवाह र विकास कार्यक्रमबारे सार्वजनिक सुनुवाइ गरेको छ। बुधबार आयोजित कार्यक्रममा पालिकावासीहरूले खुलेर गुनासा तथा सुझाव राखेका थिए। सुनुवाइमा उठेका कतिपय विषयहरूमा काम सुरु भइसकेको जानकारी दिँदै पालिकाले जनगुनासोलाई भावी नीति निर्माणको आधार बनाइने स्पष्ट पारेको छ।

विभिन्न वडाबाट आएका स्थानीयबासीहरूले सिमेन्ट लामो समयदेखि थन्किएको, चिकित्सक अभाव, बजेटको प्रभावकारी उपयोग, लक्षित वर्गका योजना कार्यान्वयन, सार्वजनिक जग्गाको उपयोग नहुनु, पारदर्शिता र मापदण्डको कमीसम्बन्धी गुनासाहरू राखेका थिए। ती गुनासालाई पालिकाले गम्भीरताका साथ लिएको र समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले स्रोत र कानुनी सीमाभित्र रहेर विकास निर्माण भइरहेको उल्लेख गर्दै भवन निर्माण कार्य चाँडै सुरु गरिने जानकारी दिए। उनले साना व्यवसाय प्रवर्द्धन (बिजनेस प्रमोशन) र सुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत रोजगारी र सामाजिक सुरक्षामा सहयोग पुगिरहेको बताए। साथै, सामुदायिक विद्यालय सुधारमा पनि पालिकाको सक्रियता बढिरहेको जानकारी दिए।

उपाध्यक्ष चन्द्रकला अधिकारीले महिला, बालबालिका, जेष्ठ नागरिक र गरिब वर्ग लक्षित नयाँ योजनाहरू ल्याउने प्रतिबद्धता जनाउँदै, “नागरिक गुनासा सुन्न मात्र होइन, तिनको व्यवहारिक समाधानमा पालिका लागिपर्नेछ,” भनिन्।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले ‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार ः अन्नपूर्ण समृद्धिको आधार’ भन्ने नारासहितको तेस्रो चौमासिक प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा पालिकाले १ करोड ८८ लाख ७ सय ८५ रुपैयाँ राजस्व संकलन गरेको छ।

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र प्राविधिक शाखाबाट वृद्ध नागरिकदेखि दलित बालबालिकासम्मका लागि सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गरिएको, साथै आधारभूत पूर्वाधार विकासमा जोड दिइएको उल्लेख छ।

प्राविधिक शाखाको तर्फबाट २०८१/८२ मा ८ वटा योजना टेन्डर भएकोमा ७ वटा सम्पन्न भइसकेका छन् भने १ योजनाको म्याद थप गरिएको छ। कृषि र स्वास्थ्य क्षेत्रमा चुनौतीका बाबजुद महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरिएको प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रममा स्थानीय डण्डपानी भण्डारीले वडा कार्यालय अगाडि लामो समयदेखि थन्किएको सिमेन्टबारे प्रश्न उठाउँदै विकास योजनामा ढिलाइ र जनप्रतिनिधिको उपस्थिति अभावप्रति असन्तुष्टि व्यक्त गरे। मुना भण्डारीले सार्वजनिक जग्गाको सदुपयोग नभएकोमा चिन्ता व्यक्त गर्दै स्रोत व्यवस्थापनमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।

अन्य स्थानीय सहभागीहरू मनहरी भण्डारी, जोमाया देवकोटा, ऋषिराम भण्डारीलगायतले पनि गुनासा र सुझावहरू प्रस्तुत गरेका थिए। माछापुच्छ्रे माविका व्यवस्थापन समितिका अध्यक्ष मनपति भण्डारीले सामुदायिक विद्यालय सुधारमा पालिका, शिक्षक, अभिभावक र समुदायको भूमिकाको महत्त्वमाथि जोड दिए।

कार्यक्रममा पत्रकार सागर ढकालले प्रस्तुत गरेको सेवाग्राही सन्तुष्टि सर्वेक्षणमा पालिकाको सेवा प्रवाहप्रति अधिकांश स्थानीय सन्तुष्ट देखिएको उल्लेख थियो। यद्यपि केही सेवामा सुधार आवश्यक रहेको धारणा पनि व्यक्त गरिएको थियो।

कार्यक्रममा टिपोटकर्ता श्रीभद्र पौडेलले सार्वजनिक सुनुवाइले सुशासन र पारदर्शिता प्रवर्द्धनमा सहयोग पुर्‍याउने बताए। साथै, जनप्रतिनिधिहरू जनभावनाअनुसार जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमको सञ्चालन पत्रकार इन्द्रप्रसाद पौडेलले गरेका थिए भने अन्नपूर्ण गाउँपालिका–२ का वडा अध्यक्ष पिताम्बर भण्डारीले स्वागत मन्तव्य दिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: