बसचालकको लापरबाहीले महिलाको मृत्यु, अमरसिंहमा केहिबेर तनाव

Share:

रञ्जन अधिकारी पोखरा, २७ भदौ / लेखनाथबाट पोखरा तर्फ आईरहेको स्थानीय मिनिबसले स्कुटरलाई ठक्कर दिदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । ना५ख ३४० नम्बरको पोखरा लेखनाथ मिनि माईक्रो बसले ग१०प ७४४ नम्बरको स्कुटरलाई अमरसिहं चोकमा ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।

अपरान्ह पौने ४ बजे बसले ठक्कर दिँदा स्याङ्जा पुतलीबजार नगरपालिका १० घर भई पोखरा ८ सिमलचौर बस्दै आएकी २४ वर्षिया जमुना पहारी अर्यालको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता डिएसपी गोविन्द अधिकारीका अनुसार दुर्घटनामा संलग्न बस चालक लेखनाथ ७ का २४ वर्षीय भिमबहादुर सुनारसँगै बस र स्कुटर प्रहरी नियन्त्रणमा छन् । पहारीको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । आफन्तले शव बुझेका छैनन् ।

‘चालकले बस चलाउँदा चलाउँदै पर्स झिक्न खोजेको बेला दुर्घटना भएको बताएको छ’– डिएसपी अधिकारीले भने– ‘तर स्कुटर आफै बसमा आएर ठोक्किएको भन्छन्् । हामी अनुसन्धानकै क्रममा छौं ।’

दुर्घटनापछि स्थानीय तथा आफन्तले बाटो अवरुद्ध गरेका थिए । आक्रोसित समुहले लेखनाथ पोखरा चल्ने ग १ ख ३३३४ नम्बरको बसमा तोडफोड गरेका छन् । उनीहरुले सडक अवरुद्ध गर्ने क्रममा सवारी साधनमाथि ढुंगा हान्न थालेपछि बाक्लो रुपमा प्रहरी परिचालन गरिएको थियो । करीब तीन घण्टापछि सडकमा अवरोध हटेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी निरीक्षक श्यामु अर्यालले आक्रोशित भिडले गुडिरहेका सवारीमाथि जथाभावी ढुंगा हान्न थालेपछि यसबाट जोगाउन अमरसिंहचोक पुग्नु अगावै चारैतिर ट्राफिक प्रहरी परिचालन गरी सवारीलाई डाईभर्ट गराईएको बताए । ‘महिलाले सडक छेउमा स्कुटर रोकेर मोबाईलमा कुरा गरिरहँदा बसले किचेको बताईन्छ।’ अर्यालले भने– ‘ट्राफिक सचेतनाका क्रममा हामीले सधै जोड दिन्छौं, सवारी चलाउँदा र सडक छेउमा रोकेर मोबाईल प्रयोग नगर्नुहोस् भनेर । नागरिक यसतर्फ सचेत हुनु जरुरी छ । आफूले गल्ती नगरेपनि आफ्नो ज्यान जाने खतरा रहन्छ ।’

कमेन्ट गर्नुहोस्
Share: