
पर्वत। जलजला गाउँपालिकामा सञ्चालित निःशुल्क एम्बुलेन्स सेवा आर्थिक अवस्था कमजोर, गरिब, असहाय र लक्षित वर्गका लागि जीवनरक्षक सेवा बनेको छ। गाउँपालिकाका अनुसार, गत वर्ष मात्रै ३२७ जना लक्षित वर्गका नागरिकले निःशुल्क सेवा लिएका छन् भने अन्य ६३१ जनाले सशुल्क रूपमा सेवा प्राप्त गरेका छन्।
गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा एम्बुलेन्स सेवा सुरु गरेको हो। अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार, गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक, गरिब, असहाय र अपाङ्गता भएका नागरिकलाई निःशुल्क सेवा दिइँदै आएको छ, भने अन्य नागरिकले सुलभ शुल्कमा सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
गएको आर्थिक वर्षमा निःशुल्क सेवा लिनेमा गर्भवती तथा सुत्केरी ७० जना, ज्येष्ठ नागरिक ९९ जना, गरिब तथा असहाय ११० जना, अपाङ्गता भएका पाँच जना र अन्य ४३ जना रहेका छन्।
“समस्या परेका नागरिकका लागि यो सेवा निकै उपयोगी भएको छ। समयमै उद्धारका कारण धेरैको ज्यान जोगिएको छ। आगामी दिनमा सेवालाई अझ प्रभावकारी बनाउने योजना छ,” अध्यक्ष आचार्यले भने।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यका अनुसार, अन्य सर्वसाधारणका लागि सुलभ दरमा प्रदान गरिएको सेवाबाट गत वर्ष ११ लाख ३ हजार ६२३ रुपैयाँ राजस्व संकलन भएको छ। एम्बुलेन्समार्फत बेनी अस्पताल, धौलागिरि अञ्चल अस्पताल, पर्वत अस्पताल, पोखरा र काठमाडौंका अस्पतालसम्म बिरामी पुर्याइएको छ।
“गर्भजाँच, सुरक्षित प्रसूति सेवा, मातृशिशु मृत्युदर घटाउने तथा नागरिकको स्वास्थ्य अवस्था सुधार गर्न एम्बुलेन्स सेवा प्रभावकारी भएको छ,” प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए।
हाल गाउँपालिकामा दुई वटा एम्बुलेन्स सञ्चालनमा छन्ए-क स्थानीय नाग्लीवाङ प्रवासीको सहयोगमा खरिद गरिएको हो भने अर्को भारतीय दूतावासको सहयोगमा प्राप्त भएको हो। दुवै एम्बुलेन्सको व्यवस्थापनका लागि छुट्टै समिति र खाता सञ्चालन गरिएको छ।
लक्षित वर्गका लागि गत आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। सेवा प्रभावकारी बनाउन इच्छुक व्यक्तिले एम्बुलेन्स सञ्चालक समितिको खातामा सहयोग रकम जम्मा गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
आवश्यकतामा सेवा लिन चाहनेले २४ सै घण्टा सञ्चालनमा रहेको निःशुल्क टोलफ्रि नम्बर १८१०५०००१६८ मा सम्पर्क गर्न सक्ने गाउँपालिकाले जनाएको छ।
