पर्वतमा पहिरो : बेपत्ता वृद्ध दम्पतिको मृत्यु

Share:

पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-३, देउरालीस्थित लाङ्दीमा आइतबार बिहान पहिरोले घर पुरिँदा एक वृद्ध दम्पतिको मृत्यु भएको छ। लगातारको वर्षाका कारण बिहान करिब ४ बजे घरमाथिबाट खसेको पहिरोले ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी पत्नी ७६ वर्षीया विष्णुमती बिकको ज्यान लिएको हो।

घर पुरिएपछि उनीहरू बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार, स्थानीयले बिहानैदेखि खोजी कार्य थालेका थिए। खोजीका क्रममा बिहान सवा ९ बजे छविलालको शव पहिरोस्थलमै फेला परेको थियो, भने विष्णुमतीको शव दिउँसो भेटिएको हो।

 

शवहरूलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पर्वतमा राखिएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वत र डिमुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उद्धार कार्य गरेको थियो। तर, पहिरोका कारण गाउँतर्फ जाने सडक अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए।

उक्त घरमा बस्दै आएकी छविलाल दम्पतिकी बुहारी ३२ वर्षीया पवित्रा बिक पहिरोमा परेर घाइते भएकी छन्। ढाड र कोखमा चोट लागेकी उनको प्रादेशिक अस्पताल पर्वतको आकस्मिक कक्षमा उपचार भइरहेको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार, पवित्राको अवस्था खतरामुक्त रहेको छ।

लगातारको वर्षाका कारण पर्वतका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्न पनि अनुरोध गरिएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: