अमरसिंह माविमा कक्षा ११ विज्ञान संकायका नवआगन्तुकलाई स्वागत, अभिमुखीकरण कार्यक्रम सम्पन्न

Share:

पोखरा। पोखराको रामघाटस्थित अमरसिंह माध्यमिक विद्यालयले मंगलबार कक्षा ११ विज्ञान संकायमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

नमुना सामुदायिक विद्यालयका रूपमा परिचित यस विद्यालयले नवीनतम शिक्षण विधि, अंग्रेजी माध्यमबाट अध्यापन, र अभिभावकको सक्रिय सहभागितालाई आफ्नो विशेषता बनाउँदै आएको छ। ईसीडीदेखि कक्षा १२ सम्म शिक्षण सञ्चालन हुने विद्यालयमा हाल २,७०० विद्यार्थी अध्ययनरत छन्।

विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलका अनुसार, यस वर्षको एसईई परीक्षामा पाँच जना विद्यार्थीले ४.०० जीपीए ल्याएका थिए। कक्षा ११ को विज्ञान संकायका १७० सिटका लागि १,३०० भन्दा बढी आवेदन परेको जानकारी दिँदै पोखरेलले विद्यालयप्रतिको विश्वास दिनानुदिन बढ्दै गएको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाले विद्यालयले शैक्षिक वातावरणलाई विद्यार्थीमैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए। उनका अनुसार, कक्षा ११ मा प्रवेश परीक्षामार्फत मात्र विद्यार्थी भर्ना गरिन्छ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का अध्यक्ष सन्तोष वास्तोलाले विद्यालयले गुणस्तरीय शिक्षासँगै नैतिक मूल्य र अनुशासनको समुचित विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरे। उनले अमरसिंह माविलाई गण्डकी प्रदेशको मात्र नभई देशकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा उल्लेख गरे।

शिक्षाविद् डा. चिन्तामणि योगीले विद्यार्थीको मनोविज्ञान बुझेर विद्यार्थीकेन्द्रित शिक्षण विधि अपनाउनु पर्ने सुझाव दिए। “निरन्तर मिहिनेतले मात्र सफलता प्राप्त हुन्छ,” उनले भने।

विशिष्ट अतिथि शिक्षाविद् जर्ज जोनले सामुदायिक विद्यालयमध्ये अमरसिंहले आफूलाई उदाहरणीय मोडेलको रूपमा स्थापित गर्न सफल भएको बताए।

कार्यक्रममा डा. लेखनाथ खनाल, विज्ञान शाखा प्रमुख रुना श्रेष्ठ, सुरेन्द्र अधिकारी, र अन्य व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए।

उक्त अवसरमा कक्षा १२ का विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रस्तुति, छात्रवृत्ति वितरण, र विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि ब्रेल लिपिमा शिक्षण व्यवस्थाबारे जानकारी प्रस्तुत गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: