
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २७ मा प्रजातन्त्रका सेनानी स्वर्गीय भोजराज सुवेदीको परिकल्पना अनुसार ‘जेष्ठ नागरिक सेवा समाज नेपाल’ गठन गरिएको छ। सेवा समाजको दोस्रो अधिवेशनले सर्वसम्मत रूपमा राममणि भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिमा रमादेवी पौडेल उपाध्यक्ष, कलाधर सापकोटा सचिव, नारायण सापकोटा सह–सचिव तथा भरतराज भट्टराई कोषाध्यक्ष चयन भएका छन्। समितिका अन्य सदस्यहरूमा रोमनाथ न्यौपाने, चुणामणी ढुंगाना, दण्डपाणी पौडेल, वीरबहादुर गुरुङ, नन्दलाल विक र भरतराज भट्टराई छन्।
भेलाले सेवा समाजको सल्लाहकार समिति पनि गठन गरेको छ। सल्लाहकारमा वडा नम्बर २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङ, विजयपुर सिंचाई प्रणाली जल उपभोक्ता संस्थाका निवर्तमान अध्यक्ष प्रयागराज भण्डारी, स्थानीय समाजसेवी मेघमणि सुवेदी, रामनरेश यादव, ज्ञानेन्द्र अधिकारी र माधव अधिकारी चयन भएका छन्।
कार्यक्रममा वडा नम्बर २६ का वडाअध्यक्ष नरेन्द्र थापाले जेष्ठ नागरिकहरू समाजका ऐना भएको उल्लेख गर्दै, उनीहरूको अनुभव र योगदानलाई समाजको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी वडा नम्बर २७ का कार्यवाहक वडाअध्यक्ष जितेन्द्र क्षेत्रीले जेष्ठ नागरिकहरू जीवित इतिहास भएको बताउँदै, उनीहरूलाई सामाजिक रूपमा सम्मान गर्ने र घर–परिवारमा उचित रेखदेखको वातावरण निर्माण गर्नुपर्ने सुझाव प्रस्तुत गरे।
