
पोखरा। नेपाली सिनेमा ‘मोहर’ को प्रचारप्रसारका लागि आयोजित ‘मोहर साँझ’ कार्यक्रम पोखराको पृथ्वीचोकमा भव्य रूपमा सम्पन्न भएको छ। साउन २३ गतेदेखि अल नेपाल रिलिज हुने फिल्मप्रति लामो समयदेखि प्रतीक्षा गरिरहेका दर्शकहरू यस कार्यक्रममा उत्साहित देखिए।
कार्यक्रमको मुख्य आकर्षण अभिनेता पल शाह र गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रहेको थियो। उनीहरूका साथै अन्य कलाकारहरूको प्रभावशाली प्रस्तुति पनि प्रस्तुत गरिएको कार्यक्रमले पोखराको पृथ्वीचोकलाई सांगीतिक र उत्सवमय बनायो।
पल शाहको आगमनलाई दर्शकहरूले जोशपूर्वक स्वागत गरे। स्टेजमै केक काटेर अभिनेताको स्वागत गरिनु दर्शकहरूको कलाकार र चलचित्रप्रतिको माया दर्शाउने संकेत हो।
चलचित्र ‘मोहर’ ले नेपाली सिनेमामा नयाँ स्वाद दिने विश्वास निर्माण पक्षले लिएको छ। कथावस्तु, प्रस्तुति, र कलाकारहरूको समर्पण दर्शक र कलाकारबीचको सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले तयार पारिएको प्रचार शैलीको प्रशंसा गरिएको छ।
चलचित्रको कथा पश्चिम नेपालको ग्रामीण परिवेश, सामाजिक द्वन्द्व, प्रेम र सांस्कृतिक अस्मितालाई केन्द्रमा राखेर तयार गरिएको हो। अभिनेता पल शाहका अनुसार फिल्मले सांगीतिक भावनालाई जीवनकथासँग जोड्ने प्रयास गरेको छ।
फिल्ममा पल शाह मुख्य भूमिकामा छन्। पारिवारिक सम्बन्ध, प्रेममा विश्वासघात, र आत्मसम्मान जस्ता गम्भीर विषयवस्तुहरू सशक्त रूपमा प्रस्तुत गरिएको छ, जसले विशेषगरी युवापुस्ता र ग्रामीण दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
पोखरामा आयोजित कार्यक्रममा पल शाहले दर्शकलाई धन्यवाद दिँदै ‘मोहर’ आफ्नो करिअरको विशेष सिनेमामध्ये एक भएको उल्लेख गरे। कथावस्तुसँग आफु निकट भएको र फिल्मले दर्शकको मन छुने विश्वास पनि उनले व्यक्त गरे।
गायक थानेश्वर गौतमले चलचित्रको गीत प्रस्तुत गर्दै मोहरमा समावेश अन्य गीतहरू समकालीन लोकभावनामा आधारित रहेको जानकारी गराए। फिल्मको लोकशैली, जीवन्तता र सांगीतिक सम्वेदनशीलतालाई उनले विशेष रूपमा उल्लेख गरे।
सांगीतिक, कथात्मक र दृश्यात्मक दृष्टिले ‘मोहर’ फरक स्वादको सिनेमा बन्ने आँकलन गरिएको छ। लोकसंस्कृतिमा आधारित समसामयिक कथा, लोकप्रिय कलाकारहरूको सहभागिता, र संगीतको गहिरो प्रभावका कारण फिल्मले दर्शकमाझ राम्रो स्थान बनाउने विश्वास निर्माण पक्षले लिएको छ।
ओम प्रतिकको कथा र निर्देशनमा बनेको चलचित्र ‘मोहर’ मा पल शाहसँगै अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्ममेकर प्रा.लि. को ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता चुम्बनजंग शाही हुन्।
