
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित रहेको जनाएको छ। यस्तै, देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै, आज राति देशभर साधारणतया बदली रहने छ। मधेस प्रदेशलगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
