पोखराका ज्येष्ठ नगर पिता नन्दलाल दाहालको १०६ वर्षको उमेरमा निधन

Share:

पोखरा । पोखरा महानगरपालिकाका ज्येष्ठ नगर पिता नन्दलाल दाहालको १०६ वर्षको उमेरमा निधन भएको छ। विगत २० वर्षदेखि पोखरा वडा नं. १७ स्थित सीतापाइँलाको वृद्धाश्रममा आश्रित रहनुभएका दाहालको आज बिहान १०:३० बजे वृद्धाश्रममै निधन भएको पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिएका छन्।

दाहालको आजै पोखराको दोविल्ला घाटमा अन्त्येष्टि गरिएको हो। दाहाललाई पोखरा महानगरपालिकाले विगत वर्ष ‘ज्येष्ठ नगर पिता’ को रूपमा सम्मान गरेको थियो। कास्कीको माछापुच्छ्रे गाउँपालिका-लाहाचोकमा जन्मनुभएका दाहाल सानै उमेरदेखि बेसहारा अवस्थामा पोखरा महानगरपालिका-२१ स्थित निर्मलपोखरीका अशोक र भरतराज रायमाझीको संरक्षणमा जीवन यापन गर्दै आएका थिए।

पछिल्लो दुई दशकदेखि रायमाझी परिवारकै सहयोगमा दाहाल पोखरा वृद्धाश्रममा बस्दै आएका थिए। अशोक रायमाझीका अनुसार दाहाल जीवनभर सरल, अनुशासित र निस्वार्थ भावनाका साथ जीवन बिताउने व्यक्तित्व हुन्। अध्यक्ष पराजुलीले दाहालको स्वास्थ्य अवस्था पछिल्लो पाँच दिनदेखि अत्यन्त कमजोर बन्दै गएको जानकारी दिए।

पोखराको सामाजिक जीवनमा सम्मानका पात्र रहेका दाहालको निधनले पोखरा समुदायमा शोक छाएको छ। वृद्धाश्रम, संरक्षणकर्ता परिवार र शुभेच्छुकहरूले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: