
पोखरा । गुरुङ गहना घर प्रा.लि.ले पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ११४ युनिट रगत संकलन गरिएको छ। प्रालिकी सञ्चालक सीमा गुरुङको जन्मदिनको अवसर पारेर पोखरा-९, न्युरोडस्थित गुरुङ गहना घरको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमकै अवसरमा ‘पाठशाला’ र ‘हिउँको गीत’ उपन्यासका लेखक तथा साहित्यकार तीर्थ गुरुङलाई नगदसहित सम्मान गरिएको छ। उनलाई नगद २० हजार रुपैयाँ, कदरपत्र र दोसल्लासहित सम्मान गरिएको हो। सम्मान प्रदेश सांसदहरू पञ्चराम गुरुङ, सरस्वती गुरुङ, गुरुङ गहना घरकी सञ्चालक सीमा गुरुङ, प्रबन्ध निर्देशक नेल्सन गुरुङ, तमु तमुधि नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, सञ्चारकर्मी बालकासी गुरुङलगायतले प्रदान गरेका थिए।
कार्यक्रममा सञ्चालक सीमा गुरुङले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन्। सुनचाँदी व्यवसायमा संलग्न हुँदै आर्थिक कठिनाइबीच पनि आत्मनिर्भर बन्न र अर्थतन्त्रमा योगदान पुर्याउने प्रयास गरिरहेकामा उनले जोड दिइन्। उनले हाल सरकारले लगाएको विलासिता कर र मूल्य अभिवृद्धि कर (भ्याट) ले व्यवसायी र ग्राहक दुवैलाई प्रभावित बनाएको भन्दै विरोध व्यक्त गरिन्।
प्रबन्ध निर्देशक नेल्सन गुरुङले गुरुङ गहना घरको नयाँ शाखा विस्तार गर्न लागिएको जानकारी दिए। उनले असोज ६ गते घटस्थापनाको अवसरमा नयाँ शाखाको उद्घाटन गरिने बताउँदै सो अवसरमा सहभागी भइदिन आग्रह गरे। उनले युवा वैदेशिक पलायन बढिरहेको बेला आफूले स्वदेशमै केही गर्ने सोचका साथ व्यवसाय सम्हाल्दै आएको बताए।
