कास्कीका पालिकाबीच ‘असल अभ्यास’ विषयक अन्तरक्रिया सम्पन्न

Share:

पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्लाका पालिकाहरूबीच ‘असल अभ्यास’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख पौडेलले कार्य सम्पादन र विकास निर्माणका उत्कृष्ट अभ्यासहरू आदान-प्रदान गर्दै समस्याहरूको समाधान र प्रभावकारी समन्वयको लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

“आपसी अनुभव आदान-प्रदानले कार्यसम्पादनको स्तरमा गुणात्मक सुधार ल्याउँछ,” उनले भने। साथै, सबै पालिकाले आन्तरिक नियन्त्रण प्रणाली विकास गरी जनउत्तरदायी, पारदर्शी र दीगो विकासमा केन्द्रित सेवा प्रवाह गर्नुपर्नेमा समेत उनले जोड दिए।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, अन्नपूर्ण गाउँपालिकाका उपप्रमुख चन्द्रकला अधिकारी, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, तथा गैरसरकारी संस्था महासंघ कास्कीका सचिव केशु भुजेललगायतले आ-आफ्ना धारणा राखे ।

कास्की जिल्लाका पाँचवटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासनिक अधिकृतहरूको सहभागिता रहेको कार्यक्रममा सबै पालिकाले आ-आफ्ना क्षेत्रमा भएका विकास निर्माण, सेवा प्रवाह र असल अभ्यासहरूको प्रस्तुति दिएका थिए।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत समितिकी उपप्रमुख सरिता मालले गरेका थिए भने कार्यक्रम सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए। कार्यक्रमबारे जानकारी समिति कास्कीका सूचना अधिकारी लक्षु शर्माले दिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: