उच्च हिमाली क्षेत्रमा पर्यटकको सुरक्षा विषयक छलफल पोखरामा

Share:

पोखरा। उच्च हिमाली क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई विशेष गरी ‘लेक’ लाग्ने जस्ता स्वास्थ्य जोखिमबाट कसरी सुरक्षा दिने भन्ने विषयमा बुधबार पोखरामा सरोकारवाला निकायबीच गहन छलफल सम्पन्न भएको छ।

कार्यक्रमको आयोजना मुस्ताङस्थित घरपझोङ गाउँपालिका र समन्वय होटल संघ पोखरा नेपालले गरेका हुन्। पछिल्ला वर्षहरूमा नेपालको तराई क्षेत्र र भारतका सीमावर्ती सहरबाट पर्यटकहरू एकै दिन सिधै मुक्तिनाथ पुग्ने प्रवृत्ति बढ्दै गएको भन्दै सरोकारवालाहरूले त्यसबाट हुने स्वास्थ्य जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उचाइको एकैदिनको चढाइ खतरनाक

तलको समुन्द्री सतह (करिब १०० मिटर) बाट एकै दिनमा ३,७१० मिटरको उचाइमा रहेको मुक्तिनाथ पुग्दा शरीरमा पर्ने असरबारे स्वास्थ्य र पर्यटन व्यवसायीहरूले चेतावनी दिएका छन्। गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले यस विषयमा नीतिगत सुधार आवश्यक भएको उल्लेख गर्दै प्रदेशसभामा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।

उनले अन्नपूर्ण चक्रीय पदयात्रा क्षेत्र नेपालको प्रमुख पर्यटन गन्तव्य भएकोले सो क्षेत्रका बिन्दुहरूमा पर्यटकका लागि सूचना तथा सचेतनामूलक सामग्रीको व्यवस्था गर्नुपर्ने सुझाव दिए।

हातहतारमा जाने प्रवृत्तिबाट जोखिम

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकको संख्या भन्दा गुणस्तर र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै भारतीय पर्यटकहरूले मुक्तिनाथ पुगेर पोखरा फर्कने क्रममा रात नबिताउने प्रवृत्तिले सुरक्षा चुनौती थपिएको बताए। उनले लेक लागेर ज्यान गुमाएका घटनाहरूको स्मरण गर्दै यसप्रति राज्य र व्यवसायी दुवैले गम्भीरता देखाउनुपर्ने बताए। संघका सल्लाहकार भरतराज पराजुलीले राम्रो सूचना प्रवाहमार्फत पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने धारणा राख्दै पूर्वाधारयुक्त सूचना केन्द्रको आवश्यकता औंल्याए।

सरकारी गम्भीरताको अभावप्रति आलोचना

होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले केही दिनअघि पर्यटकलाई हतारमा उचाइमा पुर्‍याउने प्रवृत्तिविरुद्ध आफ्नो संस्थाले विज्ञप्ति जारी गरे पनि सरकारको ध्यानाकर्षण नहुनु दुःखद भएको बताए। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले उचाइमा जानुअघि आराम गर्दै, पर्याप्त समय लिएर, न्यानो कपडा साथमा लिएर जानुपर्ने कुरामा जोड दिए। समथल भूभागबाट आउने पर्यटकमा “उचाइमा पनि उस्तै होला” भन्ने गलत सोचलाई सच्याउनु पर्ने धारणा उनले राखे।

एक्यापको तथ्यांक: लेक लागेर १८ को मृत्यु

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरियाले पर्यटकको सुरक्षाका लागि एक्याप सक्रिय रहेको बताए। उनले अन्नपूर्ण क्षेत्रमा २४५० होटल रहेको जानकारी दिँदै, स्थानीय व्यवस्थापन समितिसँग सहकार्यमा कार्य गरिरहेको बताए।

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा मात्र १८ जना पर्यटकको लेक लागेर मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ। तीमध्ये ६ जना नेपाली र ८ जना भारतीय नागरिक थिए भने बाँकी अमेरिका, जर्मनी, कोरिया र स्वीजरल्याण्डका थिए। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांक अनुसार २०८१ सालमा मात्र ११ जनाको मृत्यु, जसमा ८ जना भारतीय थिए, भएको छ।

सुरक्षाका लागि नीतिगत सुधारको सुझाव

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले सचेतनामूलक पुस्तिका वितरण, सूचना बोर्डको स्थापना जस्ता उपायहरूलाई प्रभावकारी भन्दै बोर्ड सघाउन तयार रहेको प्रतिबद्धता जनाए। टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले टिम्स कार्ड (TIMS) प्रणाली अनिवार्य गर्नुपर्ने धारणा राखे। नाट्टा गण्डकीका उपाध्यक्ष राजेश पहारीले पर्यटक सुरक्षाका लागि नीति र नियमन दुवै जरुरी भएको उल्लेख गरे।

होटल तथा पदयात्रा व्यवसायी हरि भुजेलले मुक्तिनाथ जानेसँग सम्बन्धित केही व्यवसायी र समूहले धार्मिक पर्यटकको स्वास्थ्यलाई बेवास्ता गर्ने गरेको आरोप लगाउँदै तिनीहरूको पहिचान र नियमनको माग गरे।

टान गण्डकीका पूर्व अध्यक्ष धर्मराज पन्थीले पर्यटक सुरक्षाका लागि सरकारले स्पष्ट नीति ल्याउनुपर्ने धारणा राखे। नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष दुर्गादत्त दाहालले उचाइमा पर्यटक पुर्‍याउँदा हुने स्वास्थ्य जोखिमबारे विगतमै सरकारलाई जानकारी गराइसकेको बताउँदै सवारी चालकहरूको व्यवहार मर्यादित हुनुपर्ने विषय पनि उठाए। कार्यक्रमको सञ्चालन घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरी अधिकारीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: