पोखराको खुल्ला तीज गीत प्रतियोगितामा अनु क्षेत्रीको समूह प्रथम

Share:

पोखरा। पोखरा महानगरपालिका-१३, आर्वामा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा अनु क्षेत्रीको समूहले प्रथम स्थान हासिल गरेको छ। नेपाली नारीहरूको मौलिक तथा सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा रतन पाण्डे युवा क्लबले आयोजना गरेको १८औँ संस्करणको प्रतियोगितामा संगीता बरालको समूह द्वितीय तथा पूर्णिमा बराल र सीता बरालको समूह तृतीय भएका छन्।

प्रतियोगितामा उत्कृष्ट भेषभूषाको उपाधि पूर्णिमा बरालको समूहले पाएको छ भने उत्कृष्ट नृत्यतर्फ अनु क्षेत्रीको समूह विजयी भएको क्लबका सचिव सन्दीप बरालले जानकारी दिए।

विजयी समूहहरूलाई क्लबका अध्यक्ष विजय सुनार, वडा सदस्य रजनी परियार, संस्थापक उपाध्यक्ष धने सुनार, सदस्य दीपेन्द्र सुनार, लोकदोहोरी गायक अमर धिताल र कृष्णप्रसाद गौतमलगायतले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रमको उद्घाटन वडा अध्यक्ष किरण बरालले गरेका थिए। उनले तीज पर्व नेपाली नारीको मौलिक सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षणमा स्थानीय सरकार सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।

क्लबका अध्यक्ष विजय सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य रजनी परियार, समाजसेवी शिवप्रसाद बराल, कमल सुनार, आशिर्वाद क्लब अफ नेपालका उपाध्यक्ष विक्रम बराललगायतले बोल्दै यस्ता कार्यक्रमहरूले कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। साथै, क्लबलाई अझ सक्रिय बनाउँदै समाज विकासमा टेवा पुर्‍याउन सुझावसमेत दिएका थिए।

कार्यक्रमको सञ्चालन सचिव सन्दीप बरालले गरेका थिए। कार्यक्रममा लोकदोहोरी गायक अमर धिताल र भजन गायक कृष्णप्रसाद गौतमले सांगीतिक प्रस्तुति दिँदै सहभागी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

क्लबले परम्परागत संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विगतका वर्षदेखि नै यस्ता कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: