
पोखरा। भारतीय फाइटर चुनरेब कोरेनलाई पराजित गर्दै म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा ऐतिहासिक सफलता हात पार्ने पहिलो नेपाली च्याम्पियन रविन्द्र ढाटलाई पोखरामा सम्मान गरिएको छ। लेकसाइडस्थित शाक यान्त मुआथाई क्लबले आयोजना गरेको कार्यक्रममा ढाटलाई गण्डकी प्रदेशका सांसद तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले सम्मान गरे।
सम्मान समारोहमा बोल्दै सांसद अधिकारीले ढाटले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको भन्दै प्रशंसा गरे। “खेल क्षेत्रबाट देशको नाम उच्च राख्नुभएकोमा धन्यवाद दिन चाहन्छु,” अधिकारीले भने, “गण्डकी प्रदेशलाई खेल पर्यटनको राजधानी बनाउने हाम्रो लक्ष्य छ, यसतर्फ सरकारको ध्यान केन्द्रित छ।”
“केही थाहा नपाई फाइटमा गएँ”-रविन्द्र ढाट
सम्मान ग्रहण गर्दै ढाटले आफूले शुरुवातमा एमएफएनबारे केही पनि नजानेको अनुभव सुनाए। “तपाईंहरू यहाँ प्रशिक्षण लिइरहनु भएको छ, फाइटको बारेमा राम्रो ज्ञान छ, तर मलाई त्यति बेला केही पनि थाहा थिएन,” उनले भने, “तर मिहेनत गरेँ, अहिले म यहाँ छु। तपाईंहरूले पनि कडा मिहेनत गर्नुस्, सफलता अवश्य मिल्छ।”
शाक यान्त मुआथाई क्लबका सञ्चालक तथा प्रशिक्षक खगेन्द्र क्षेत्रीले ढाटलाई भव्य सम्मान गर्न नसके पनि यो कार्यक्रम प्रेरणादायी रहेको बताए। “हामीले ढाटको अनुभव र उनको फाइटिङ शैलीबाट धेरै कुरा सिक्यौं,” क्षेत्रीले भने, “उनीसँगको अन्तरक्रियाले प्रशिक्षार्थीहरूमा उत्साह थपेको छ।”
कार्यक्रममा ढाटले क्लबमा प्रशिक्षणरत खेलाडीहरूसँग समय बिताउँदै फाइटिङका केही मूलभूत कुरा साझा गरेका थिए। मंगलबार पोखरा आएका ढाटले मुआथाईमार्फत थप सफलता हासिल गर्ने लक्ष्य रहेको बताए। लेकसाइडस्थित शाक यान्त मुआथाई क्लबमा हाल दर्जनौं खेलाडी मुआथाईको प्रशिक्षणमा सक्रिय छन्। रविन्द्र ढाट जस्ता सफल फाइटरहरूको उपस्थितिले युवा खेलाडीहरूमा थप ऊर्जा थपिएको क्लबका प्रशिक्षक क्षेत्री बताउँछन्।
