
पोखरा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा-१, बगरको २२औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तुल बहादुर कार्कीले गरेका थिए। उनले कम खर्चमा उत्कृष्ट काम गर्दै आएको सामुदायिक केन्द्रको प्रशंसा गर्दै भने, “समाजमा हुने हरेक आपराधिक घटना नियन्त्रणमा सामुदायिक सेवा केन्द्रहरूको भूमिका अतुलनीय छ।”
एसएसपी कार्कीले लागू औषध दुरुपयोग नियन्त्रणमा देखिएको प्रगति उल्लेख गर्दै अझ प्रभावकारी ढंगले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। “प्रहरी साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै नेपाल प्रहरी तपाईहरूसँग हातेमालो गरेर अघि बढ्नेछ,” उनको भनाइ थियो।
आत्महत्याका घटनामा कमी ल्याउन सामुदायिक समन्वय आवश्यक
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष सिता अधिकारीले गाउँपालिकामा आत्महत्याका घटनाहरू बढी हुने गरेको उल्लेख गर्दै अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि सामुदायिक सेवा केन्द्रसँग समन्वयमा काम गरिरहेको जानकारी दिइन्। पोखरा महानगरपालिका वडा नं.१ का अध्यक्ष साहारा प्रधानले बगर सामुदायिक सेवा केन्द्रले सञ्चालन गरेका कार्यक्रमहरू उत्कृष्ट रहेको धारणा राखिन्।
सामुदायिक प्रहरी सेवा बगरकी संस्थापक अध्यक्ष सिता गुरुङले लागुऔषध नियन्त्रणमा अझ सक्रियता आवश्यक रहेको बताइन्। सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति, कास्कीका महासचिव घनश्याम तिम्सिनाले समाजमा हुने विकृति-विसङ्गति नियन्त्रणमा सामुदायिक सेवा केन्द्रहरूको उल्लेखनीय योगदान रहेको बताए।
पूर्वअध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठले दरबन्दी कम भएको कारण कार्यसम्पादनमा चुनौती थपिएको भन्दै सामुदायिक केन्द्रको भूमिकालाई अझ सशक्त बनाउनु पर्नेमा जोड दिए।
सम्मान र पुरस्कार वितरण
कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य तथा सल्लाहकार विश्वमोहन गौचन र जिल्ला प्रहरी कार्यालय कास्कीकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेल प्रमुख प्रहरी निरीक्षक सरला ढकाललाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरियो।त्यसैगरी, एसईईमा उत्कृष्ट अंक ल्याउने सदस्यहरूको सन्तानहरूलाई नगदसहित सम्मान गरिएको छ । जसमा
बवुराम भण्डारी आजीवन सदस्य, सिता भण्डारीकी छोरी शुष्मा भण्डारी, भानुभक्त अधिकारीका छोरा सुशांक अधिकारी, र प्रकाशचन्द्र सापकोटाकी छोरी प्रविना सापकोटा रहेका छन् ।
साथै, हालै निर्वाचित सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकका पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा बधाई दिइएको थियो।
प्रतिवेदन प्रस्तुत
कार्यक्रममा सचिव कृष्ण बहादुर तमाङले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमल प्रसाद बास्तोलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष कुमारी मुना बास्तोला, नदिपुर कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेश कुमार मानन्धर, इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी, र सिद्धार्थ आमा समूहकी अध्यक्ष रिता लामिछानेलगायतले शुभकामना मन्तव्य राखेकी थिइन्।
कार्यक्रम समितिका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। निवर्तमान अध्यक्ष रामभूषण पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने सचिव कृष्ण बहादुर तमाङले कार्यक्रम सञ्चालन गरेका थिए।
