
पोखरा । एलपी ग्याँस विक्रेता संघ कास्कीको २१औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा व्यवसायीहरूले एलपी ग्याँसको कारोबार व्यवस्थित हुन नसकेको र पछिल्लो समय यसको उपभोग दैनिक रूपमा घट्दै गएको भन्दै गुनासो व्यक्त गरे।
उनीहरूका अनुसार नेपालमा विसं २०२८ सालदेखि एलपी ग्याँसको कारोबार सुरु भए पनि हाल घट्दो जनसंख्या घनत्व, विद्युत् उपकरणहरूको बढ्दो प्रयोग, र उपभोगमा आएको कमीका कारण व्यवसाय संकटमा परेको छ।
एलपी ग्याँस विक्रेता संघ कास्कीका सचिव हरिकृष्ण अधिकारीका अनुसार हाल कास्की जिल्लामा १८ वटा कम्पनीबाट ग्याँस आपूर्ति भइरहेको छ।
कार्यक्रमको उद्घाटन ग्याँस वितरक महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालले गरेका थिए। उनले व्यवसायीहरू आर्थिक रूपमा स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै विक्रेता संघहरूमा उठाइने रकमको हिसाब सार्वजनिक नहुनु, तथा आर्थिक अपारदर्शिताजस्ता विषयले भष्टाचारलाई निम्त्याएको बताए।
“हामी नेताहरूलाई मात्रै गाली गर्छौं, तर व्यवसायीहरू आफैं पनि भष्टाचारमा मुछिँदै गएका छन् भन्ने अनुभूति हुन्छ,” उनले भने।
नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले ग्याँस व्यवसायीहरूले सरकारको नीति–नियमअनुसार कारोबार गर्नुपर्ने धारणा राखे। उनले ग्याँस डिपो सञ्चालन मापदण्ड पालना गर्न आग्रह गर्दै, ग्याँस कम्पनीले तोकेको अधिकतम मूल्यमा व्यवसाय गर्दा चुनौती हुने बताए।
“अधिकतम मूल्य भनेको उपभोक्ता आफैं पसलबाट लैजाने अवस्थामा लागू हुन्छ,” उनले भने, “घर–घर पुर्याउँदा अतिरिक्त सेवा शुल्क लिन पाउने व्यवस्था आवश्यक छ, जसका लागि नेपाल सरकार र आयल निगमसँग समन्वय गर्नुपर्नेछ।”
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष बलराम आचार्य, ग्याँस विक्रेता महासंघका उपाध्यक्ष नारायणप्रसाद पौडेल, एलपी ग्याँस विक्रेता संघका केन्द्रीय कोषाध्यक्ष रविन कार्की, गृहलक्ष्मी ग्याँस कम्पनीका प्रवन्धक भीमराज लामिछाने, शक्ति ग्याँस कम्पनीका प्रवन्धक मेघराज पौडेल, संघ कास्कीका संस्थापक अध्यक्ष बालकृष्ण कोइराला, उपाध्यक्ष शिवकुमार श्रेष्ठलगायतले आ-आफ्ना धारणा राखेका थिए।
साधारणसभाले सचिव हरिकृष्ण अधिकारीको प्रतिवेदन तथा कोषाध्यक्ष सुरजमान गुरुङको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो। कार्यक्रमको अध्यक्षता संघ कास्कीका अध्यक्ष नारायणदत्त दाहालले गरेका थिए भने सञ्चालन सुविना दाहालले गरेकी थिइन्।
