
पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा तथा प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि भूमि, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत गण्डकी प्रदेश सहकारी रजिष्टारको कार्यालयका सूचना अधिकारी चोलाकान्त वाग्लेले सहकारीलाई ‘राम्रो र हाम्रो’ बनाउन शेयर सदस्यहरू स्वयं सक्रिय हुनुपर्नेमा जोड दिए।
उनले वित्तीय सूचकांकहरू मासिकरूपमा नियाल्न आग्रह गर्दै चापापानी सहकारीको वर्तमान वित्तीय अवस्था बलियो रहेको बताए। विशेष अतिथि पोखरा महानगरपालिका-२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले सहकारीप्रतिको नकारात्मक प्रचारका बीचमा पनि चापापानी सहकारीले समुदायको उन्नति र प्रगतिमा टेवा पुर्याउने संस्था बन्ने विश्वास व्यक्त गरे।
संस्थाका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष नरेशबहादुर कार्कीले चापापानी सिद्धार्थ सहकारी कास्की जिल्लाका अग्रणी सहकारीमध्ये एक भएको उल्लेख गर्दै सदस्यहरूले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई अझ मजबुत बनाउनुपर्ने बताए।
संस्थाका अध्यक्ष दिपक कार्कीले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा धेरै सहकारीहरूले साधारणसभा गर्न नसकिरहेको अवस्थामा पनि आफ्ना शेयर सदस्यहरूलाई राम्रो प्रतिफल दिन सफल भएको जानकारी गराए।
कार्यक्रममा सयपत्री सहकारीका अध्यक्ष टिका बहादुर कार्की, पोखरापत्र दैनिकका सह-सम्पादक शोभाकान्त सिग्देल, संस्थाका सल्लाहकार डा। नगेन्द्र भण्डारी लगायतले आ-आफ्ना धारणा राखेका थिए। साधारणसभामा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो । प्रतिवेदनहरू प्रस्तुत गर्नेहरुमा अध्यक्षको प्रतिवेदन अध्यक्ष दिपक कार्की, सचिवको प्रतिवेदन सचिव इन्दिरा कोइराला, वित्तीय विवरण व्यवस्थापक करूणा शाही कार्की, ऋण लगानी प्रतिवेदन संयोजक गुप्त बहादुर कार्की, लेखा प्रतिवेदन लेखा संयोजक चित्र प्रसाद दाहाल र कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष इन्द्रदत्त बराल रहेका छन्।
कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष श्यामप्रसाद साँखीले दिएका थिए भने शिक्षा उप-समितिका संयोजक मनोहरी पौडेलले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए। यस अवसरमा उत्कृष्ट कारोबारी सदस्य, उत्कृष्ट बचतकर्ता, साथै स्नातक र स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरियो। कार्यक्रमको अध्यक्षता दिपक कार्कीले गरेका थिए भने सञ्चालन सचिव इन्दिरा कोइरालाले गरेकी थिइन्।
