हेभी इक्युपमेन्ट अपरेटरको चेतावनी: “अब चुप बस्दैनौं”

Share:

पोखरा। हेभी इक्युपमेन्ट अपरेटरहरूले आफूहरूको चुनौतीपूर्ण तथा जोखिमपूर्ण पेशामा सरकारबाट आवश्यक सहयोग नपाएको गुनासो गरेका छन्। दुर्घटनामा परेपछि समयमै उद्धार नहुने, कार्यस्थलमा घाइते वा मृत्यु भए पनि सरकारले बेवास्ता गर्ने गरेको उनीहरूको आरोप छ। नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीको आठौँ साधारणसभा तथा गण्डकी प्रदेश अपरेटर अन्तरक्रिया कार्यक्रममा सहभागी अपरेटरहरूले आफ्नो जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरेका छन्।

गण्डकी प्रदेश अपरेटर संघका महासचिव देवेन्द्र चोखालले पुल, सडक र जलविद्युत आयोजनाहरूमा काम गर्दा सामान्य सुरक्षा सामग्रीसमेत नपाउने गुनासो गरे। उनले भने, “देशको विकासका लागि जोखिम मोलेर काम गरिरहेका छौँ, तर कार्यस्थलमा हाम्रो जीवनको सुरक्षा छैन।”

अपरेटर संघ कास्कीका अध्यक्ष किशोरप्रसाद गौतमले आफ्नो पेशामा इमानदारीपूर्वक लाग्दा पनि जीवन सुरक्षाको ग्यारेन्टी नहुँदा अप्ठ्यारो परेको बताए। “हामी विकासका मेरुदण्ड हौँ, तर अप्ठ्यारो पर्दा सरकारबाट सहयोग पाएका छैनौँ,” उनले भने।

गौतमले सरकारलाई सामाजिक सुरक्षा कोषमा हेभी इक्युपमेन्ट चालकहरूलाई पनि समावेश गर्न माग गरेका छन् । अहिलेको अवस्थामा अपरेटरहरूलाई औपचारिक श्रमिकको रूपमा नमानिँदा उनीहरूले राज्यका तर्फबाट पाइने सुविधाबाट वञ्चित हुनुपरेको बताइएको छ।

कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिंहडले अपरेटरहरू दुर्घटनामा परे हेलिकप्टरमार्फत उद्धार गर्ने प्रबन्ध सरकारले गर्नुपर्ने माग गरे। उनले श्रमिकहरूको जीवन सुरक्षा र परिवारका लागि उचित व्यवस्थाको आवश्यकता औँल्याए। “गाउँगाउँमा डोजर, एक्साभेटर किनिन्छ, तर तिनका चालकको सुरक्षामा कसैको ध्यान छैन,” उनले थपे। त्यस्तै, समाजवादी स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष नवराज दाहालले श्रमिकका हकहित र उत्थानका लागि सबै पक्ष एक ठाउँमा आउनुपर्ने बताए।

नेपाल हेभी इक्युपमेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघका अध्यक्ष सन्तोष श्रेष्ठले हेभी सवारी लाइसेन्स पाउन झन्झटिलो प्रकृयालाई सरल बनाउनु पर्ने माग गरे। उनले अपरेटरहरूको हकहितको आवाज सडकदेखि सदनसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले श्रमिक र व्यवसायीहरू मिलेर काम गर्नुको महत्त्वमा जोड दिए। बोल्ने अन्य वक्ताहरूमा समाजवादी स्वतन्त्र ट्रेड युनियनका प्रदेश संयोजक टिवी विश्वकर्मा (हिमाल), गण्डकीका उपाध्यक्ष टंक पौडेल, सचिव गुणराज बास्तोला, गण्डकी प्रदेश संयोजक सुशिल कुमार वाग्ले, नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघ कास्कीका सचिव वामदेव पौडेल, कोषाध्यक्ष उमनाथ शर्मा, नेपाल ट्रेडर्सका सञ्चालक किशोर सुवेदी, अपरेटर संघ गण्डकी अध्यक्ष प्रेमबहादुर थापामगर, कार्यक्रम संयोजक श्याम सुवेदी, सचिव कृष्णप्रसाद पौडेल, स्याब्जाका अध्यक्ष दीपेन्द्र शर्मा, म्याग्दी अध्यक्ष देवबहादुर खड्का (कुशल), एमएमडब्लु पोखराका प्रमुख कृष्णप्रसाद तिवारी लगायतको उपस्थिति रहेको थियो।

साधारणसभाको अवसरमा ज्येष्ठ हेभी इक्युपमेन्ट चालक टंक लामिछाने र मंगलबहादुर लामिछानेलाई सम्मान गरिएको थियो। त्यसैगरी माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका अपरेटरहरूका छोराछोरीलाई नगदसहित सम्मान गरिएको थियो। साधारणसभाले अध्यक्ष किशोरप्रसाद गौतम, सचिव कृष्णप्रसाद पौडेल, र कोषाध्यक्ष अनन्तराज पौडेलद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: