
काठमाडौं । भदौ २३ अर्थात् सेप्टेम्बर ८ मा राजधानी लगायत देशभरि भएको विद्यार्थी आन्दोलनमा राज्यद्वारा भएको दमनको कडा विरोध गर्दै नवपुस्ताको तर्फबाट “जनताको आन्दोलन” घोषणा गरिएको छ। ‘जेनजी’ नाम दिइएको पुस्ताले सार्वजनिक गरेको एक खुला पत्रमा उनीहरूले संसद विघटनदेखि अन्तरिम सरकारको मागसम्म गरेका छन्।
“यो क्रान्ति प्रत्यक्ष प्रसारण हुनेछ,” भनी सुरु गरिएको सो पत्रमा भदौ २३ मा भएको घटनामा सरकार र राजनीतिक दलहरूलाई “बर्बर, भ्रष्ट र अपात्र” भन्ने कडा आरोप लगाइएको छ। उनीहरूले भनेका छन्, “तपाईंहरूले आज विद्यालय पोशाकमा रहेका विद्यार्थीहरूलाई गोली हान्न हिचकिचाएनौं। हामी त्यहीँ थियौं, हाम्रा साथीहरूको रगत सडकमा तपतप परेको देख्यौं।”
पत्रमा सरकारले आन्दोलनमा सहभागी बालबालिका र युवामाथि गोली चलाएको, बुटले किचेको र शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि दमन गरेको आरोप छ। “हामीले तपाईंहरूलाई चुनेका थियौं, आजदेखि हामी तपाईंहरूलाई अस्वीकार गर्छौं,” खुलेको पत्रमा भनिएको छ।
जेनजी पुस्ताले अगाडि ५ वटा मागहरू अघि सारेका छन्।
-संसद विघटन
-सांसदहरूको सामूहिक राजीनामा
-गोली चलाउने आदेश दिने उच्च अधिकारीहरूको निलम्बन
-नवपुस्ताको सुझाबअनुसार नेतृत्व चयन गरिएको अन्तरिम सरकार गठन
-अन्तरिम सरकारको नेतृत्वमा चाँडै निर्वाचन गरिनुपर्ने
उनीहरूले भनेका छन्, “तपाईंहरूले लोकतन्त्रको नाममा वंशवाद ल्याउनु भयो। शान्तिको नाममा तानाशाही स्थापना गर्न खोज्नु भयो। तपाईंहरूको लागि प्रत्येक क्रान्ति रिटायर्मेन्ट योजना भयो। अब त्यो चक्र अन्त्य हुन्छ।”
पत्रको अन्त्यमा उनीहरूले सशक्त चेतावनी दिएका छन्, “यसपटक हामी तपाईंलाई भोटले हटाउनेछौं।” यो घोषणासँगै देशभरि नवपुस्ताको आक्रोश संगठित आन्दोलनतर्फ उन्मुख हुने संकेत देखिएको छ। आन्दोलनका नेतृत्वकर्ताहरूले सामाजिक सञ्जालमा #September8Movement र #VoteThemOut जस्ता ह्यासट्याग प्रयोग गरी व्यापक जनसहभागिता आह्वान गरेका छन्।

