
पोखरा। देशभर जारी आन्दोलन र त्यसबाट उत्पन्न असहज परिस्थितिका कारण कास्की जिल्लाका संस्थागत विद्यालयहरू भदौ २६ र २७ गते बन्द रहने भएका छन्। सार्वजनिक यातायात ठप्प, बजारहरू बन्द र सर्वसाधारणमा फैलिएको असुरक्षाको अनुभूतिका कारण विद्यालय सञ्चालक संस्थाहरूले यस्तो निर्णय गरेका हुन्।
कास्कीका चारवटा प्रमुख विद्यालय संगठन-मोन्टेसरी एसोसिएसन, हिसान, एनप्याब्सन र प्याब्सनका अध्यक्षहरू भवानी अधिकारी, दिवाकर जैसी, हेमन्त अधिकारी र षडानन्द गौतम द्वारा जारी संयुक्त विज्ञप्तिमा विद्यालय बन्दको सूचना सार्वजनिक गरिएको हो।
संस्थागत विद्यालयहरूले अभिभावकहरूलाई सम्बोधन गर्दै भनेका छन्: “देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको, सार्वजनिक यातायात र बजार बन्द भएको, साथै विद्यमान अन्योलका कारण सुरक्षा व्यवस्था सुनिश्चित हुन नसकेको अवस्थालाई ध्यानमा राखी विद्यालयहरू भदौ २६ र २७ गते बन्द गरिने निर्णय गरिएको छ।”
विद्यालयहरूले हालको विषम परिस्थितिमा पठनपाठनमा पर्न सक्ने नोक्सानीप्रति चिन्ता व्यक्त गर्दै, स्थिति सामान्य भएपछि ब्यवस्थित शैक्षिक योजना बनाइ कार्यान्वयन गरिने बताएका छन्। यसका लागि अभिभावक, नागरिक समाज, शिक्षा प्रशासन र सरोकारवाला निकायहरूसँग परामर्श गरिने जानकारी पनि दिइएको छ।
विद्यालय सञ्चालकहरूले देशमा चाँडै वैधानिक नेतृत्व स्थापित भई समाजमा शान्ति र स्थायित्व फर्किने आशा व्यक्त गरेका छन्। साथै, विद्यार्थीहरूको सुरक्षा, स्वास्थ्य र मानसिक सन्तुलनलाई प्राथमिकता दिन अभिभावकहरूलाई आग्रह गरिएको छ।
कास्कीका विद्यालयहरू बन्द हुँदा हजारौं विद्यार्थी घरमै बस्न बाध्य भएका छन्। अभिभावक, विद्यालय र सरोकारवालाहरूले मिलेर हालको अन्योलपूर्ण परिस्थितिमा जिम्मेवार भूमिका खेल्नुपर्ने समय आएको छ।
