तीन मन्त्रीको टुंगो लाग्यो, खनाल अर्थ, घिसिङ ऊर्जा र अर्याल गृहमा नियुक्त, सोमबार शपथ

Share:

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो अन्तरिम मन्त्रिपरिषद् विस्तार गर्दै अनुभवी व्यक्तिहरूलाई जिम्मेवारी दिएकी छिन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि उनले रामेश्वर खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, र ओमप्रकाश अर्याललाई कानुन तथा गृहमन्त्रीको जिम्मेवारी दिन प्रस्ताव गरिएको छ।

प्रधानमन्त्री कार्कीले मन्त्री नियुक्त गर्नुअघि सम्बन्धित व्यक्तिहरूसँग फोन संवाद गरेकी थिइन् भने अन्तिम टुंगो कार्यालयमै बोलाएर लगाइएको थियो। पूर्वअर्थसचिव रामेश्वर खनाल आर्थिक सुधार तथा नीतिगत स्थिरता कायम गर्न सरकारको पहिलो रोजाइमा परेका हुन्। उनले विगतमा बजेट निर्माणदेखि आर्थिक खाका तयार पार्दासम्म उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका छन्।

त्यस्तै, पूर्वनेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लोडसेडिङ अन्त्यमा क्रान्तिकारी भूमिका निर्वाह गरेका नेतृत्वकर्ता हुन्। ऊर्जा र पूर्वाधारको जिम्मेवारी सम्हाल्ने घिसिङको अनुभवप्रति प्रधानमन्त्रीको विश्वास देखिएको छ।

ओमप्रकाश अर्याल कानुन व्यवसायी हुन् । यसअघि विभिन्न रिट निवेदन र सामाजिक आन्दोलनका कारण उनी चर्चामा थिए। पछिल्लो समय भने उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार बनेर काम गरेका थिए।

यसअघि प्रधानमन्त्री कार्कीले सविता भण्डारीलाई महान्यायाधिवक्ताको रूपमा नियुक्त गरिसकेकी छन्। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार केपी शर्मा ओलीको राजीनामा र प्रतिनिधिसभा विघटनपछि गठन भएको हो। सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: