चार ठूला दलका शीर्ष नेताको उठीबास, पार्टी कार्यालय ध्वस्त

Share:

काठमाडौं। नेपालमा भदौ २३ गते जेनजी प्रदर्शनकारीमाथि भएको बर्बर दमनपछि भदौ २४ गते देशव्यापी रूपमा हिंसा भड्कियो। प्रदर्शनकारीहरूले सरकारी भवनहरू र प्रमुख राजनीतिक दलका नेताहरूको घर तथा पार्टी कार्यालयहरूलाई निशाना बनाए। यो घटनाले देशमा ठूलो जनधनको क्षति पुर्‍याएको छ र राजनीतिक परिदृश्यलाई नै हल्लाएको छ।

भदौ २४ गते बिहानैदेखि प्रदर्शनकारीहरूले काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतलाई लक्षित गरी आक्रमण गरे। यी प्रमुख प्रशासनिक केन्द्रहरूमा तोडफोड र आगजनी गरियो, जसले गर्दा ठूलो भौतिक क्षति भयो। देशको न्यायपालिका र विधायिकाका प्रतीक मानिने यी भवनहरूको क्षतिले राज्य संयन्त्रमाथिको जनआक्रोश स्पष्ट रूपमा देखायो।

प्रदर्शनकारीको मुख्य निशाना नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरू र तिनका पार्टी कार्यालयहरू बने। १९ जना युवाको मृत्युको आक्रोशमा चार(पाँच घण्टाको अवधिमा यी दलका केन्द्रीय कार्यालयहरू मात्र होइन, नेताहरूको निजी निवासहरूमा समेत व्यापक क्षति पुर्‍याइयो।

नेपाली कांग्रेस

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा आगजनी गरी पूर्ण रूपमा नष्ट गरियो। देउवा र उनकी श्रीमती डा। आरजु राणा देउवालाई भौतिक आक्रमण गरी सख्त घाइते बनाइएको खबर प्राप्त भएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका काठमाडौंका भाडाका घरहरू तथा झापास्थित घरहरू पनि पूर्ण रूपमा ध्वस्त भए। यसैगरी प्रकाशमान सिंहको घर, चारवटा गाडी र रमेश लेखकको घर पनि आगजनीको शिकार भए। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य गरी करिब ४० जनाको घर पूर्ण रूपमा ध्वस्त भएको छ। कतिपय नेताहरूमाथि भौतिक आक्रमणसमेत भएको छ। कांग्रेसको केन्द्रीय कार्यालय खरानीमा परिणत भएको छ र सबै ऐतिहासिक दस्तावेजहरू नष्ट भएका छन्।

नेकपा एमाले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवास पूर्ण रूपमा जलाइयो।
उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू गोकर्ण विष्ट र रघुवीर महासेठको जनकपुरस्थित घर पनि जलाइएको छ।

प्रदेशका मुख्यमन्त्रीहरू यमलाल कँडेल, चेतनारायण आचार्य, पोलिटब्युरो सदस्यहरू गोकुल बास्कोटा, महेश बस्नेत लगायत केन्द्रीय, प्रदेश र स्थानीय तहका नेताहरूको घरमा तोडफोड र आगजनी भयो।
एमाले उपाध्यक्ष गुरु बरालका अनुसार, यो माओवादी युद्धको बेला भएको क्षतिभन्दा पनि ठूलो क्षति हो। च्यासलस्थित पार्टी कार्यालय पनि खरानी भएको छ, जसले गर्दा पार्टीका ऐतिहासिक दस्तावेजहरू नष्ट भएका छन्।

नेकपा माओवादी केन्द्र

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास र चारवटा गाडी पूर्ण रूपमा जलाइयो। उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार, २२ जना नेताको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। कोटेश्वरस्थित माओवादीको केन्द्रीय कार्यालयमा केही पनि बाँकी नरहेको र सबै महत्त्वपूर्ण दस्तावेजहरू नष्ट भएको एक अधिकारीले बताए।

कुनै रसायन प्रयोग गरी आगजनी गरिएको जस्तो देखिने गरी भित्ताहरू जलेर खण्डहर बनेका छन्। सार्वजनिक पदबाहेकका ४० जनाभन्दा बढी नेताका घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। माओवादीको केन्द्रीय कार्यालयमा ३ वटा मोटरसाइकल पनि जलाइएका छन्।

नेकपा एकीकृत समाजवादी

अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवास र सम्मानित नेता झलनाथ खनालको डल्लुस्थित निवास पूर्ण रूपमा ध्वस्त बनाइएको छ। आगजनीबाट खनालकी श्रीमती गम्भीर घाइते भएकी छन्। वरिष्ठ नेता राजेन्द्र पाण्डेको धादिङस्थित निवासमा तोडफोड र आगजनी भएको छ। माधव नेपालका तीन भाइको घरमा पनि आगजनी गरिएको छ भने स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको गाडी जलाइएको छ। एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि तोडफोड र आगजनी भएको छ, जसले गर्दा महत्त्वपूर्ण दस्तावेजहरू जलेर खरानी भएका छन्।

रास्वपा र राप्रपा

रास्वपा र राप्रपाका पार्टी कार्यालय र नेताहरूमाथि भने भौतिक आक्रमण नभएको नेताहरूले बताएका छन्।
यस आगजनी र तोडफोडका कारण कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरू घरबारविहीन भएका छन्। उनीहरू हाल सेनाको उच्च सुरक्षा घेरामा रहेका छन्। यो घटनाले नेपाली राजनीतिमा गहिरो प्रभाव पारेको छ। कांग्रेसका मुख्यसचिव पौडेलले ुकांग्रेस दुबो होु भन्दै पार्टीले आफूलाई पुनः ब्युँताएर संविधानलाई ट्र्याकमा ल्याउने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कायम गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। यस घटनाले नेपाली जनतामा व्याप्त असन्तुष्टि र आक्रोशलाई उजागर गरेको छ, साथै राजनीतिक दलहरूका लागि गम्भीर आत्मसमीक्षाको अवसर सिर्जना गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: