
पोखरा। अबदेखि विद्यालय समयमा पोशाक लगाएर टिकटक भिडियो बनाउने शिक्षक र कर्मचारीमाथि कारबाहीको प्रक्रिया अगाडि बढ्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले औपचारिक रुपमा यस्तो गतिविधिमा संलग्न नहुन स्पष्ट निर्देशन दिएको हो।
विद्यालय शिक्षा महाशाखाले जारी गरेको निर्देशनमा भनिएको छ, “विद्यालय समयमा शिक्षक तथा कर्मचारीले पोशाकमै भिडियो खिची सामाजिक सञ्जालमा राख्ने क्रियाकलाप बालबालिकाको मनोविज्ञानमा प्रतिकूल असर पार्ने देखिएको छ।” मन्त्रालयले यो निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको ‘हेलो सरकार’मा पुगेका गुनासोका आधारमा लिएको जनाएको छ।
अब जिल्लास्तरीय शिक्षा विकास तथा समन्वय इकाइहरूले समेत पालिकाहरूलाई पत्राचार गरी मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न आग्रह गरिरहेका छन्। मन्त्रालयले पोशाकमा वा कार्यालय समयमा टिकटक जस्ता सामाजिक सञ्जालमा पोस्ट हुने खालका भिडियो नबनाउन स्पष्ट चेतावनी दिएको छ। यस निर्णयसँगै सामाजिक सञ्जालमा क्रियाशील शिक्षक र कर्मचारीहरूलाई थप अनुशासित बनाउने अपेक्षा गरिएको छ।

