
पोखरा । जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न सरकारी कार्यालयमा भएको तोडफोड, आगजनी र चोरीपश्चात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले महत्वपूर्ण अपिल जारी गरेको छ। सोमबार सार्वजनिक गरिएको सूचनामा मुख्यमन्त्री कार्यालयले आन्दोलनका बेला चोरिएका सवारी साधन, टिभी, कम्प्युटर, ल्यापटप, स्क्यानर, क्यामरा, प्रिन्टर, फर्निचर लगायतका सरकारी सामग्रीहरू तत्काल फिर्ता गर्न आग्रह गरेको हो।
सामग्री फिर्ता गर्ने व्यक्तिको नाम र परिचय पूर्ण रूपमा गोप्य राखिने सूचनामा उल्लेख गरिएको छ। यदि कसैले आफूसँग यस्ता सामग्री छन् वा कसैबाट प्राप्त गरेका छन् भने, सम्बन्धित कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाइदिन भनिएको छ।
सूचनामा उल्लेख अनुसार, घटनास्थलको सीसीटीभी फुटेज र अन्य भिडियो प्रमाणका आधारमा तोडफोड र चोरीमा संलग्न व्यक्तिहरूको पहिचान प्रक्रिया तीव्र रूपमा भइरहेको छ। यदि स्वेच्छाले सामग्री फिर्ता नगरेमा सम्बन्धित व्यक्तिहरूविरुद्ध कानुनी कारबाही हुने स्पष्ट चेतावनी पनि दिइएको छ।
जेनजी आन्दोलनको प्रभावले गण्डकी प्रदेशको प्रशासनिक संरचनामा ठूलो क्षति पुगेको छ। कार्यालय, आयोग, निकाय तथा सरकारी निवासहरूमा भएको क्षति र चोरी अब कानुनी प्रक्रियाको विषय बन्न थालेको छ। यस्तो अवस्थामा सरकार र सर्वसाधारणबीचको विश्वास कायम राख्न जनताको सक्रिय सहयोग आवश्यक भएको सरकारको भनाइ छ।
