
पोखरा । पोखरामा भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताको संलग्नता पुष्टि भएपछि पार्टीले तत्काल कारबाही प्रक्रिया थालेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका विभिन्न भिडियोहरूले आन्दोलनमा पार्टी नेताहरू प्रत्यक्ष सहभागी भएको देखाएपछि, पोखरा-१० का संयोजक चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का संयोजक भोजराज पौडेललाई निलम्बन गरिएको हो।
भिडिओमै देखिए, आगो लगाउँदै
विशेषगरी चन्द्रबहादुर थापा पोखरा महानगर कार्यालय र मेयर धनराज आचार्यको घरमा आगजनी गर्दै गरेको भिडियो सार्वजनिक भएपछि यो विषय गम्भीर बनेको हो। भिडिओमा थापालाई मेयरको घरभित्र पस्दै सामानमा आगो लगाएको स्पष्ट देखिन्छ। यही प्रमाणका आधारमा गण्डकी प्रदेश अनुशासन आयोगले उनलाई सोमबारबाट लागु हुने गरी निलम्बन गरेको हो। आयोग प्रमुख योगेन्द्र केसीका अनुसार थापा पार्टीको आचारसंहिताविपरीत “अवाञ्छित गतिविधि” मा संलग्न भएका कारण अर्को निर्णय नआएसम्मका लागि पार्टीका सबै जिम्मेवारीबाट हटाइएका छन्।
थापाको स्वीकारोक्ति : “उत्तेजनामा गल्ती भयो”
कारबाहीपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै थापाले आफ्नो गल्ती स्वीकारेका छन्। उनले लेखेका छन्, “भीडको उत्तेजनामा परेर केही गलत भएको हुन सक्छ। म आफ्नो कमजोरी स्वीकार गर्छु।”
रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते जेन जीले आयोजना गरेको विरोध कार्यक्रममा पार्टीको आचारसंहिताभन्दा बाहिर रहेर विभिन्न अवाञ्छित क्रियाकलापमा संलग्न भएको विभिन्न सामाजिक सञ्जालमार्फत देखिन आएकोले तपाईंलाई अर्को निर्णय नहुन्जेलसम्मका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गराइन्छ।”
८० भन्दा बढी संरचना ध्वस्त
उक्त आन्दोलनको क्रममा ८० भन्दा बढी सार्वजनिक र निजी संरचना ध्वस्त भएका छन्। सरकारी कार्यालय, सवारीसाधन, र आवासीय घरहरूमा तोडफोड, आगजनी र लुटपाटसमेत भएको पुष्टि भइसकेको छ। हालसम्म संलग्नहरूको पहिचान र कारबाही प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ।
