आज देशका यी भूभागमा भारी वर्षाको सम्भावना

Share:

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ। साथै, अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यसैगरी, आज राति देशभर साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, बागमती, मधेश, लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: