
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको जनाएको छ। महाशाखाका अनुसार नेपालको मौसम प्रणालीमा स्थानीय वायुको आंशिक प्रभाव छ। सोमबार कोशी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।
कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। सोमबार राति कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मौसमविद् विनोद पोखरेलले पनि सोमबार मनसुन त्यति सक्रिय नदेखिने र धेरै ठाउँमा दिउँसो घमाइलो मौसम नै हुने बताएका छन्। मंगलबार भने काठमाडौं लगायत धेरै ठाउँमा वर्षाको सम्भावना रहेको उनले बताएका छन्। यो हप्ता केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने उनले बताएका छन्। अर्को हप्ता भने धेरै ठाउँमा वर्षाको सम्भावना रहेको पनि उनले बताएका छन्।
