ओली र बस्नेतमाथि प्रतिशोध सैह्य नहुने राष्ट्रिय युवा संघको चेतावनी

279
0
Share:

काठमाडौं : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले अध्यक्ष केपी शर्मा ओली र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि भएको भनिएको प्रतिशोधप्रति कडा आपत्ति जनाउँदै यस्तो गतिविधि सैह्य नहुने चेतावनी सरकारलाई दिएको छ।

संघका अध्यक्ष क्षितिज थेवेले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै राहदानी रोक्का र सम्भावित मुद्दा दायरजस्ता कार्यहरूलाई पूर्वाग्रहपूर्ण र अराजनीतिक निर्णयको संज्ञा दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, “गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले प्रारम्भिक चरणमै कुनै ठोस प्रमाणबिना विशुद्ध शंका र पूर्वाग्रहको आधारमा राहदानी रोक्का गर्ने निर्णय गरेको छ, जुन पूर्णतः आपत्तिजनक छ।”

पूर्वप्रधानमन्त्री ओलीजस्तो व्यक्तित्वले सम्पूर्ण जीवन राष्ट्रसेवामा समर्पण गरेको र कुनै पनि परिस्थितिमा देश नछोड्ने घोषणा गरिसकेको सन्दर्भ उठाउँदै संघले राहदानी रोक्का निर्णयलाई ‘अराजनीतिक प्रतिशोध’को उदाहरण भनेको छ।

विज्ञप्तिमा महेश बस्नेतमाथि मुद्दा चलाउने तयारीसम्बन्धी समाचारलाई पनि आपत्तिजनक भन्दै संघले यस्तो कार्यलाई ‘प्रतिशोधपूर्ण चरित्रको निरन्तरता’ भनेर टिप्पणी गरेको छ।

संघले चेतावनी दिँदै भनेको छ, “अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतमाथि कुनै पनि प्रतिशोध भएको खण्डमा त्यसको प्रतिरोध गर्न हामी बाध्य हुनेछौं।”

राष्ट्रिय युवा संघले आफ्नो स्थापना कालदेखि नै लोकतन्त्र, बहुदलीय व्यवस्था र जनअधिकारको पक्षमा पहरेदारी गर्दै आएको स्मरण गराएको छ। साथै, पूर्वाग्रह तथा प्रतिशोधविहीन जीवनयापन र राजनीतिक क्रियाकलाप गर्ने नागरिकको संवैधानिक अधिकारको रक्षा गर्दै आएको जिकिर गरिएको छ।

संघले घटनाको निष्पक्ष छानबिनको पक्षमा आफूहरू उभिएको स्पष्ट पार्दै अपराधी करार गर्ने शैलीमा गरिएका निर्णयहरू फिर्ता लिन सरकारसँग आग्रह गरेको छ।

 

कमेन्ट गर्नुहोस्
Share: