
पोखरा । गत भदौ २३ र २४ गते कास्की कारागारमा भएको आन्दोलन, तोडफोड र आगजनीपछि फरार भएका कैदी र थुनुवामध्ये ८१ जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कारागार विभागले फरार कैदीहरूलाई स्वस्फूर्त रूपमा असोज २० गतेभित्र कारागारमा फर्कन आग्रह गरेको थियो। तर, सो समयावधिभित्र नफर्किएका फरारहरूलाई कास्की प्रहरी र मातहतका प्रहरी टोलीहरूले व्यापक खोजतलास गरी पक्राउ गरेका हुन्।
पक्राउ गरिएका ८१ जना फरारमध्ये धेरैजसो गम्भीर अपराधमा संलग्न रहेका छन्। जसमा जवरजस्ती करणीमा १६ जना, लागू औषधमा १६ जना
,चोरीमा २५ जना, कर्तव्य ज्यानमा ८ जना, ज्यान मार्ने उद्योगमा ९ जना,अभद्र व्यवहारमा ४ जना, सवारी अंगभंगमा १ जना, कुटपिटबाट अंगभंग मा १ जना र मानव बेचबिखनमा १ जना रहेका छन् ।
पक्राउ परेका सबै जनालाई पुनः कारागार कार्यालय कास्कीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले बाँकी फरारहरूको खोजतलास कार्य अझै पनि तीव्र गतिमा जारी रहेको जानकारी दिए।
यस घटनापछि कास्की कारागारको सुरक्षामा थप कडाई गरिएको छ। प्रहरी स्रोतका अनुसार भविष्यमा यस्ता घटना पुनः नदोहोरियोस् भनेर सुरक्षात्मक उपायहरूमा ध्यान दिइएको छ।
