कास्की कारागारबाट भागेका कैदी पोखरामा झुन्डिएको अवस्थामा मृत फेला

Share:

पोखरा । पोखरा महानगरपालिका-२६ बरालडाँडामा एक व्यक्ति आफ्नै घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। मृतक हालै कास्की कारागारबाट भागेका कैदी ५५ वर्षीय देवबहादुर विश्वकर्मा रहेको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, विश्वकर्मा मंगलबार बिहान करिब ६:४५ बजे बासको बलोमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनी एक तले कच्ची घरमा बस्दै आएका थिए। घटना हुँदा घरमा कोही पनि नभएको प्रहरीले जनाएको छ।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका विश्वकर्मा भदौ २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा कास्की कारागारबाट अन्य कैदीहरूसँगै भागेका थिए। प्रहरीका अनुसार फरारकै सूचीमा रहेका उनलाई खोजी कार्य जारी थियो।

घटनाको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। प्रारम्भिक अनुसन्धानबाट आत्महत्या हुनसक्ने अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: